गणेश पौडेलको हातबाट खेल सामग्री वितरण, खेलकुदसँगै शिक्षालाई अघि बढाउन आग्रह
चन्द्रपुर (रौतहट), कात्तिक १३ — स्थानीय युवा खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदको विकासमा जोड दिने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुर नगर समिति र वडा नम्बर १० को वडा कमिटीले खौराहा टोलका फुटबल खेलाडीलाई जर्सी तथा खेलकुद सामग्री वितरण गरेको छ।
रास्वपा चन्द्रपुरका नगर सभापति अरुण लामाको अग्रसरतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा रौतहट क्षेत्र नम्बर ४ का सांसद गणेश पौडेलले खेलाडीलाई जर्सी वितरण गरेका हुन्। कार्यक्रममा रास्वपाका संस्थापक नगर सभापति तथा चन्द्रपुर नगरपालिकाको आगामी स्थानीय तह निर्वाचनमा मेयर पदका आकांक्षी उदयनारायण सापकोटा ‘सुरेन्द्र’ लगायत पार्टीका नेता, कार्यकर्ता, स्थानीय युवा तथा खेलप्रेमीको सहभागिता थियो।
कार्यक्रममा नगर सभापति लामाले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताए। खेलाडीलाई प्रोत्साहन गर्न आगामी दिनमा पनि आवश्यकताअनुसार थप खेलकुद सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै उनले खेलकुदसँगै शिक्षालाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले युवा खेलाडीलाई खेल जीवन र भविष्यका विषयमा मार्गदर्शन गर्दै मेहनत, अनुशासन र निरन्तर अभ्यासलाई सफलताको आधार बनाउन आग्रह गरे।
‘क्रिकेटले विश्वसामु नेपालको नाम चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ,’ लामाले भने, ‘अब फुटबलले पनि नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउनुपर्छ।’ उनले अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गरिरहेका राष्ट्रहरूको उदाहरण दिँदै इच्छाशक्ति, लगनशीलता र निरन्तर मेहनत भए नेपाली खेलाडीले पनि ठूलो सफलता हासिल गर्न सक्ने बताए।
कार्यक्रममा रास्वपाका जिल्ला सदस्य अजय कुशवाहा, नगर उपसभापति राजकिशोर गुप्ता, नगर सचिव मकुन्द पौडेल तथा संस्थापक नगर सभापति उदयनारायण सापकोटा ‘सुरेन्द्र’ सहभागी थिए। त्यसैगरी चन्द्रपुर नगरपालिका–१० को वडा कमिटीका उपसभापति सञ्जय बैठा र सचिव उमेशलगायत स्थानीय युवा, पार्टीका नेता–कार्यकर्ता तथा खेलप्रेमीको उपस्थिति थियो।
खेलकुद सामग्री तथा जर्सी वितरणले स्थानीय खेलाडीको मनोबल बढाउनुका साथै युवालाई खेलकुदप्रति आकर्षित गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ। स्थानीय स्तरमा रहेका प्रतिभाको पहिचान, खेल अभ्यासका लागि आवश्यक वातावरण निर्माण र युवालाई सकारात्मक गतिविधिमा जोड्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने सहभागीहरूको भनाइ थियो।
रास्वपा चन्द्रपुरले खेलकुद विकास तथा युवा प्रतिभाको प्रोत्साहनलाई लक्षित गरी आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक र खेल सामग्री उपलब्ध गराउने सहयोगीप्रति आभार व्यक्त गरेको छ।