ट्याक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु, श्रीमती घाइते; विषादी सेवन गरेका युवकको उपचार हुँदै
रौतहट, १३ कात्तिक । रौतहटमा दुई दिनको अवधिमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको झुन्डिएको अवस्थामा मृत्यु भएको छ भने सवारी दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ । त्यस्तै, विषादी सेवन गरेका एक युवकको उपचार भइरहेको छ ।
फतुवा विजयपुर नगरपालिका–११ भैसही टोलमा कात्तिक १२ गते राति १६ वर्षीया अम्बिका कुमारी यादव आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । स्थानीय भागनारायण राय यादवकी छोरी अम्बिका कोठाभित्र बाँसको बलोमा सलको पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल पठाएको थियो ।
यसैगरी, कात्तिक १३ गते बिहान चन्द्रपुर नगरपालिका–१० श्रीनगर टोलका २६ वर्षीय आशिक दास आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् । बिगन दासका छोरा आशिकलाई बिहान करिब १ः३० बजे उनका बुवाले कोठाभित्र सिलिङ पङ्खा झुन्ड्याउने फलामको रडमा सलको पासो लगाएको अवस्थामा देखेका थिए । त्यसपछि पासो काटेर उनलाई घरको बरन्डामा राखिएको थियो । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै, फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलस्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ । कात्तिक १२ गते साँझ करिब ६ः३० बजे दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना.२ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक रौतहटको गुजरा नगरपालिका–४ पोखरभिण्डा निवासी तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी गम्भीर घाइते भएका थिए । मोटरसाइकलमा पछाडि सवार उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्का पनि घाइते भएकी थिइन् । दुवैलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएकोमा चिकित्सकले राति ८ः१० बजे चौधरीलाई मृत घोषणा गरेका थिए । खड्काको अवस्था गम्भीर रहे पनि पछिल्लो विवरणअनुसार स्वास्थ्यमा सुधार भइरहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् । प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएको छ भने फरार ट्याक्टर चालकको खोजी भइरहेको जनाएको छ ।
यसैबीच, देवाही गोनाही नगरपालिका–७ का १८ वर्षीय दिनेश कुमार पासवानले कात्तिक १२ गते राति विषादी सेवन गरेका छन् । अशक्त अवस्थामा रहेका उनलाई उपचारका लागि सुरुमा प्रादेशिक अस्पताल गौर लगिएको थियो । सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित हेल्थ केयर अस्पताल पठाइएकोमा पछिल्लो विवरणअनुसार उनको स्वास्थ्यमा सुधार भइरहेको छ । विषादी सेवन गर्नुको कारण भने खुल्न सकेको छैन ।
प्रहरीले चारवटै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।