रौतहट। आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै गौर आँखा अस्पताल, पुरेनवाले सञ्चालन गरिरहेको निःशुल्क आँखा उपचार महाअभियानअन्तर्गत रौतहटको नरकटियामा आयोजित शिविरबाट २०८ जना लाभान्वित भएका छन्। शिविरमा आँखा परीक्षण गराएकामध्ये ४२ जनामा मोतिबिन्दु देखिएपछि उनीहरूलाई शल्यक्रियाका लागि छनोट गरिएको छ।
परोहा नगरपालिका–८, नरकटियास्थित मदरसा तजबिदुल कुरआनमा ‘आँखालाई माया गरौँ, आँखाको सुरक्षा गरौँ’ भन्ने मूल नाराका साथ शिविर सञ्चालन गरिएको हो। युवा समाजसेवी इन्तेखाब आलमको विशेष पहल तथा स्थानीयवासीको सहकार्यमा आयोजित शिविरमा स्थानीय नागरिकले निःशुल्क आँखा परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए।
गौर आँखा अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार शिविरमा १३६ जनालाई औषधिमार्फत उपचार सेवा प्रदान गरिएको थियो भने अन्य ३० जनाले सामान्य आँखा परीक्षण तथा परामर्श सेवा लिएका थिए। मोतिबिन्दु पहिचान भएका ४२ जनालाई थप उपचारका लागि शल्यक्रियामा छनोट गरिएको उनले जानकारी दिए।
अस्पतालका वरिष्ठ नेत्र अधिकृत शिवकुमार यादवको नेतृत्वमा अर्चना सिंह, अनिता चौधरीलगायत छ सदस्यीय प्राविधिक टोलीले बिरामीको आँखा परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेको थियो।
शिविरमा छनोट भएका मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने अस्पतालले जनाएको छ। शल्यक्रियाका लागि आवश्यक यातायातको व्यवस्थासमेत अस्पतालले मिलाउने भएपछि आर्थिक तथा अन्य समस्याका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार सुनिश्चित गर्दै आर्थिक अवस्था कमजोर भएका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले गौर आँखा अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई उपचारको पहुँचमा ल्याउन यस्ता शिविर प्रभावकारी माध्यम बन्दै आएका छन्।
यसैबीच, अस्पतालले आगामी मंसिर ४ गते रौतहटको मौलापुर नगरपालिका–५ स्थित रिलायन्स पब्लिक इङ्लिस बोर्डिङ स्कुलमा बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने शिविरमा मौलापुर तथा आसपासका क्षेत्रका नागरिकलाई सहभागी भई निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिन अस्पतालले आग्रह गरेको छ।