रौतहट — काठमाडौंँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका फर्किंदै गरेका यात्रुका लागि घर पुग्ने त्यो यात्रा जीवनकै अन्तिम यात्रा बन्यो। परिवारसँग भेट्ने, आफन्तसँग खुसी साट्ने र आफ्नो गाउँ फर्किने आशा बोकेर यात्रामा निस्किएका यात्रु मकवानपुरको भीमफेदी क्षेत्रमा भएको दुर्घटनामा सधैँका लागि अस्ताएका छन्। एउटै दुर्घटनाले कैयौँ परिवारको खुसी खोसेको छ भने सिंगो चक्रघट्टा गाउँपालिकालाई शोकमा डुबाएको छ।
२०८३ साल कात्तिक २६ गते बिहान काठमाडौंँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका आउँदै गरेको यात्रुवाहक विद्युतीय सवारी साधन मकवानपुर जिल्लाको भीमफेदी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका स्थानीय नागरिकसहित यात्रुहरूको दुःखद निधन भएको घटनाले गाउँपालिकामा गहिरो शोक छाएको छ।
दैनिक जीवनका अनेकौँ सपना बोकेर घर फर्किंदै गरेका नागरिकको असामयिक निधनले परिवारजनको जीवनमा अपूरणीय क्षति पुगेको छ। घर फर्किने प्रतीक्षामा रहेका आफन्तले अब आफ्ना प्रियजनलाई जीवित देख्न नपाउने भएका छन्। दुर्घटनाको खबरले गाउँका घरआँगनदेखि टोलबस्तीसम्म शोक र सन्नाटा छाएको छ।
घटनाप्रति चक्रघट्टा गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ। गाउँपालिकाले मृतकको अन्तिम संस्कार तथा काजक्रिया कार्यमा सहयोग पुर्याउने उद्देश्यले मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
त्यस्तै, दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता प्रकट गर्न गाउँपालिकाले एक दिन स्थानीय शोक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाको २०८३ कात्तिक २६ गतेको निर्णयअनुसार कात्तिक २७ गते शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालयलगायत गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा स्थानीय शोक बिदा दिइएको छ।
शोक बिदाका दिन गाउँपालिकाभित्रका सरकारी तथा सार्वजनिक कार्यालयबाट नियमित सेवा प्रवाह बन्द रहने भए पनि स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले यस दुःखद घडीमा सम्पूर्ण गाउँपालिकावासीलाई शोकसन्तप्त परिवारको पीडामा साथ दिन, दिवंगत आत्माको चिरशान्तिको कामना गर्न तथा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरेको छ। साथै दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
एउटा दुर्घटनाले केही परिवारको सहारा खोसेको छ, बालबालिकाको टाउकोबाट अभिभावकको छाया हटाएको छ र आफन्तको प्रतीक्षामा रहेका घरहरूलाई शोकमा बदलिदिएको छ। फर्किने बाटो हेरेर बसेका आँखाहरू अब कहिल्यै पूरा नहुने प्रतीक्षामा छन्।
चक्रघट्टाका लागि यो केवल एउटा सडक दुर्घटना होइन, कैयौँ परिवारको जीवनभर नमेटिने पीडा र सिंगो गाउँपालिकाले भोगेको साझा शोक बनेको छ।