काठमान्डौ,४ बैशाख//
डोलप्रसाद अर्याल (डीपी अर्याल) ले संसद् र संसदीय समितिमा रिपोर्टिङ गर्न पत्रकारहरूको पहुँच सहज बनाउने प्रतिबद्धता जनाएका छन्।
संसदीय मामिला पत्रकार समाज तथा संसदीय रिपोर्टिङमा संलग्न पत्रकारहरूसँगको भेटमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
पछिल्लो समय पत्रकारहरूले संसद् भवन प्रवेशमा कठिनाइ भोग्दै आएका छन्। प्रतिनिधिसभा र राष्ट्रिय सभाको सभा कक्ष पुग्न छुट्टाछुट्टै गेट व्यवस्था, प्राविधिक झन्झट तथा फोटो खिच्दा हुने सुरक्षा कडाइका कारण समाचार संकलनमा अवरोध भइरहेको पत्रकारहरूले गुनासो गरेका छन्।
पत्रकारहरूले अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको मर्मअनुसार संसद् परिसरमा सहज र मर्यादित कार्य वातावरण सुनिश्चित गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए।
जवाफमा सभामुख अर्यालले हालको संसद् भवन अस्थायी संरचनामा रहेकाले केही व्यावहारिक समस्या देखिएको उल्लेख गर्दै नयाँ स्थायी भवन निर्माणपछि यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गरे।
संसद् र प्रेसबीचको सम्बन्ध लोकतन्त्र सुदृढीकरणका लागि अपरिहार्य रहेको उल्लेख गर्दै उनले पारदर्शी र प्रभावकारी रिपोर्टिङका लागि पत्रकारहरूको पहुँच सहज बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।