काठमाडौं ,४ बैशाख//
जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी तथा सार्वजनिक कार्यालय आसपास बिचौलियाको गतिविधिविरुद्ध सञ्चालन गरेको अभियानमा ३०९ जनालाई पक्राउ गरेको छ।
एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार विभिन्न मितिमा काठमाडौंका विभिन्न कार्यालय आसपासबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले ‘बिचौलियामुक्त कार्यालय’ बनाउने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेको जनाएको छ। सोही क्रममा हालसम्म ३०९ जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिविरुद्ध ६१ वटा मुद्दा दर्ता गरिएको छ। तीमध्ये दुःख–हैरानी, गुण्डागर्दी तथा यौनजन्य अपराधसम्बन्धी आरोपसमेत रहेको प्रहरीले जनाएको छ।