काठमाडौं ,४ बैशाख //
जिल्ला प्रहरी परिसर काठमाडौंले ६ महिनाअघि देखि ‘फाइल ट्र्याकिङ सिस्टम’ लागू गरेको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एसपी पवन भट्टराईले २०८२ असोजपछि फोन, म्यासेज र इमेलमार्फत उजुरीहरूको ट्र्याकिङ गर्दै आएको जानकारी दिए।
उनका अनुसार उक्त प्रणालीमार्फत हालसम्म ३० हजार ६ सय पटक फोन सम्पर्क, १७ सय म्यासेज र १५ सय ५० पटक इमेलमार्फत उजुरीकर्तासँग सम्पर्क स्थापित गरिएको छ। “पीडितहरूसँग नियमित फलोअपका लागि हामीले फोन, म्यासेज र इमेलमार्फत सम्पर्क गरेका छौँ,” उनले भने।
बैङ्किङ कसुर, बकपत्र, चालचलन, मानिस हराएको निवेदन, शान्ति सुरक्षा तथा घरेलु हिंसा जस्ता मुद्दाहरूको व्यवस्थापनका लागि उक्त प्रणाली विकास गरिएको उनले जानकारी दिए।
यसैबीच, क्युआर कोडमार्फत गुनासो तथा सुझाव संकलन गर्ने तयारी पनि भइरहेको छ।
प्रहरीका अनुसार पछिल्लो ६ महिनामा ८३ हजार ५४० सेवाग्राहीले सेवा लिएका छन्। सेवाग्राहीलाई सहज बनाउन नागरिक सहजकर्ता समेत परिचालन गरिएको जनाएको छ।