सर्लाही ,११ जेष्ठ//
उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर संघर्ष गरिरहने बताएकी छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको बालविवाह तथा दाइजो प्रथा उन्मूलन कार्यक्रममा बोल्दै उनले यी कुरीति मधेसबाट मात्रै होइन, देशभरबाट अन्त्य हुनुपर्ने बताइन् ।
छोरीलाई बोझ मान्ने सोचका कारण बालविवाह हुने गरेको उल्लेख गर्दै उपसभामुख ठाकुरले छोरीलाई सम्मान गर्न समाजलाई आग्रह गरिन् ।
उनले भनिन्, “माता सीताको जन्मभूमिमा छोरी जन्मनु सौभाग्यको कुरा हो ।”
सांसद नीतिमा कार्की भण्डारीले पनि दाइजो र बालविवाह जस्ता कुरीति शिक्षा र चेतनाबाट मात्रै अन्त्य गर्न सकिने बताइन् ।
कार्यक्रममा २० वर्षपछि छोरीको विवाह गर्ने अभिभावक, बिना दाइजो विवाह गर्ने जोडी तथा बुहारीलाई उच्च शिक्षा पढाउने परिवारलाई सम्मान गरिएको थियो ।
चन्द्रनगर गाउँपालिकाले २० वर्षपछि विवाह गर्ने छोरीलाई नगद ५० हजार रुपैयाँ र कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई ११ हजार रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराउँदै आएको जनाएको छ ।