महोत्तरी,११ जेष्ठ//
जेनजी आन्दोलनका क्रममा जलेश्वर कारागार तोडेर भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन् ।
जलेश्वर कारागारका प्रमुख अशोककुमार क्षेत्रीका अनुसार भागेका ५७६ कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेका छन् । फर्किनेमा ३१६ नेपाली र १० भारतीय नागरिक रहेका छन् ।
गत भदौ २४ गते आन्दोलनका क्रममा महोत्तरीको जलेश्वरस्थित कारागार तोडेर कैदीबन्दी भागेका थिए । कारागार प्रशासनले त्यसपछि सञ्चारमाध्यममार्फत सबैलाई फर्किन आह्वान गरेको थियो ।
कारागार प्रशासनका अनुसार फर्किएका कैदीबन्दीलाई कारागार ऐन, २०७९ अनुसार कारबाही गरिनेछ भने फरार व्यक्तिलाई लुकाउने वा आश्रय दिनेहरूलाई पनि कानुनी कारबाही गरिनेछ ।
२०० जनाको क्षमता रहेको जलेश्वर कारागारमा हाल दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । पुरानो र जीर्ण संरचना, औषधिको अभाव तथा अत्यधिक चापका कारण व्यवस्थापनमा समस्या भइरहेको प्रशासनले जनाएको छ ।
कारागार प्रमुख क्षेत्रीले नयाँ भवन निर्माण र सुधारमुखी कार्यक्रम सञ्चालन गर्न सके व्यवस्थापन सहज हुने बताए । यता, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।