पर्सा ,११ जेष्ठ//
पर्सा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको श्री सबुज गणको संयुक्त टोलीले जरायोको मासुसहित दुई जनालाई पक्राउ गरेको छ ।
निकुञ्ज प्रशासनका अनुसार जेठ ८ गते तामागढीबाट करिब ३ किलोमिटर पश्चिम निकुञ्जको कोर क्षेत्रमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका व्यक्तिहरू निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका स्थानीय बासिन्दा रहेको खुलेको प्रशासनले जनाएको छ । उनीहरू अवैध वन्यजन्तु शिकार तथा ओसारपसारमा संलग्न रहेको आशंका गरिएको छ ।
निकुञ्ज प्रशासनका अनुसार पछिल्लो तीन महिनामा सुरक्षा टोलीले विभिन्न स्थानबाट चार नाल भरुवा बन्दूक, सात जना शिकारी तथा ठूलो परिमाणमा जरायोको मासु बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत थप कानुनी कारबाही अघि बढाइएको प्रशासनले जनाएको छ ।