काठमाडौं ,११ जेष्ठ//
सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्यसहित सरकारी कुरियर सेवाको विस्तारलाई तीव्र बनाएको छ ।
राहदानी, सवारी चालक अनुमति पत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत सरकारी कागजात घरमै पुर्याउने सेवा हाल ६० जिल्लामा विस्तार गरिएको हुलाक सेवा विभागले जनाएको छ ।
विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार नागरिकले सामान्य सरकारी सेवाका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्न सेवा प्रणालीलाई प्रविधिमैत्री बनाइँदै लगिएको हो ।
हालसम्म २९ हजार ७५८ राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ भने १ हजार ७६३ राहदानी सेवाग्राहीको घरमै वितरण गरिएको विभागले जनाएको छ ।
त्यस्तै चार लाख ७५ हजारभन्दा बढी सवारी चालक अनुमति पत्र यातायात कार्यालयसम्म पुर्याइएको छ । तीमध्ये ६७२ वटा लाइसेन्स घरमै वितरण गरिएको छ ।
विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकार्य विस्तार गरेको जनाएको छ । हालसम्म २६० शैक्षिक प्रमाणपत्र वितरण गरिएको छ भने ५३९ प्रयोगशाला नमुना ढुवानी गरिएको छ ।
नेपाल टेलिकमसँग सहकार्य गरी सिम कार्ड घरमै पुर्याउने सेवा सुरु गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।