जेठ १२,रौतहट
रौतहटको कटहरिया नगरपालिका मा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद फेरि सतहमा आएको छ । नगरपालिकामा लामो समयदेखि कर्मचारीको तलब, प्रशासनिक निर्णय तथा आर्थिक अधिकारको विषयलाई लिएर देखिएको खटपट अहिले सार्वजनिक रूपमै चर्किएको हो ।
मंगलबार नगर प्रमुख अजय प्रकाश जैसवाल ले सामाजिक सञ्जालमार्फत करिब अढाई मिनेटको भिडियो सन्देश जारी गर्दै कर्मचारीलाई पालिकामा आएर आन्दोलन गर्न खुला अपिल गरेका छन् । भिडियो सन्देशमा उनले कर्मचारीको तलब रोकिएको विषयमा आफू जिम्मेवार नरहेको दाबी गर्दै यसको मुख्य कारण प्रमुख प्रशासकीय अधिकृत र लेखापाल रहेको आरोप लगाए ।
नगर प्रमुख जैसवालले आफूले पटक–पटक तलब निकासाका लागि सेड्युल बनाएर हस्ताक्षर गरिदिएको भए पनि प्रमुख प्रशासकीय अधिकृत र लेखापालको आनाकानीका कारण कर्मचारीले समयमै तलब पाउन नसकेको बताएका छन् । उनले पालिकाका सबै वडाका कर्मचारीको तलब भुक्तानीका लागि प्रक्रिया अगाडि बढाए पनि सम्बन्धित कर्मचारीले सहयोग नगरेको गुनासो गरेका छन् ।
भिडियो सन्देशमा उनले आन्दोलन गर्न आउने कर्मचारीलाई आवतजावत खर्चदेखि खानाको व्यवस्थासमेत आफूले मिलाउने घोषणा गरेका छन् । “जसलाई आउन पैसा छैन, त्यसको खर्च म आफैँ बेहोर्छु, तपाईंहरू पालिकामा आएर सशक्त आन्दोलन गर्नुहोस्,” भन्दै उनले कर्मचारीलाई खुला रूपमा आन्दोलनमा उत्रिन आग्रह गरेका हुन् ।
यति मात्र नभई नगर प्रमुख जैसवालले कर्मचारीको तलब दिन कुनै कानुनी वा प्रशासनिक जोखिम आउँछ भने त्यसको जिम्मेवारी आफू लिन तयार रहेको समेत बताएका छन् । उनले आफूले बारम्बार पहल गर्दा पनि प्रमुख प्रशासकीय अधिकृतले बैठक बोलाएर विभिन्न व्यक्तिसँग हस्ताक्षर गराउने काम मात्रै गरेको आरोप लगाए ।
तर नगर प्रमुखको अभिव्यक्तिप्रति स्थानीय स्तरमा मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपयले मेयरको भनाइलाई “हावा गफ” को संज्ञा दिएका छन् । स्थानीयका अनुसार यसअघि पनि नगर प्रमुखले पत्रकार सम्मेलन गरेर कर्मचारीको तलब निकासा गरिसकेको दाबी गरेका थिए । तर हालसम्म कर्मचारीले तलब नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
केही स्थानीय तथा राजनीतिक वृत्तमा भने मेयर र कर्मचारीबीचको यो विवादको अर्को पक्ष पनि रहेको चर्चा भइरहेको छ । उनीहरूका अनुसार पछिल्लो समय संघीय सरकारले पालिकाहरूमा तुलनात्मक रूपमा कडाइ गर्ने र उपसचिव सरहका प्रमुख प्रशासकीय अधिकृत पठाउन थालेपछि धेरै पालिकामा मेयर र हाकिमबीच द्वन्द्व बढ्न थालेको हो ।
स्थानीयवासीहरूको भनाइ अनुसार केही जनप्रतिनिधिले आफ्नो अनुकूलका कर्मचारी, इन्जिनियर, डाक्टर वा “चापलुसी गर्ने” प्रशासनिक अधिकारी राख्न खोज्ने प्रवृत्ति पुरानै हो । तर अहिले तुलनात्मक रूपमा कडाइ गर्ने तथा आर्थिक अनुशासनमा जोड दिने कर्मचारीहरू आउन थालेपछि पालिकाभित्र शक्ति संघर्ष चर्किएको बुझाइ स्थानीयको छ ।
कतिपयले नगर प्रमुख जैसवालले आफू अनुकूल काम नहुने र कथित कमिसन वा आर्थिक चलखेल गर्न कठिन भएपछि कर्मचारीको सहारा लिएर आन्दोलनको वातावरण बनाउन खोजेको आरोपसमेत लगाएका छन् । यद्यपि यस विषयमा नगर प्रमुख पक्षबाट औपचारिक प्रतिक्रिया आएको छैन ।
उल्लेखनीय कुरा के छ भने कटहरिया नगरपालिका मा विगत केही वर्षदेखि कर्मचारीको तलब विवाद पटक–पटक दोहोरिँदै आएको छ । तलब नपाएको भन्दै कर्मचारीहरूले आन्दोलन गर्ने, पालिकामा तालाबन्दी गर्ने तथा सेवा प्रभावित हुने अवस्था यसअघि पनि पटक–पटक सिर्जना भइसकेको छ ।
यसपटक भने नगर प्रमुख आफैँले सार्वजनिक रूपमा आन्दोलन गर्न आह्वान गरेपछि विवादले नयाँ मोड लिएको छ । अहिले स्थानीय कर्मचारी तथा सर्वसाधारण जनतामा वास्तविक पीडा कसको हो — कर्मचारीको कि स्वयं नगर प्रमुखको — भन्ने विषयमा अन्योल देखिएको छ ।
रौतहटका अधिकांश पालिकाहरूमा पछिल्लो समय मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद बढ्दै जानुलाई स्थानीयले अब “नयाँ ट्रेन्ड” का रूपमा हेर्न थालेका छन् । जनप्रतिनिधि र प्रशासनबीचको असमझदारीका कारण विकास निर्माणदेखि दैनिक सेवा प्रवाहसम्म प्रभावित हुन थालेपछि आम नागरिक भने मारमा परिरहेका छन् ।