काठमाडौं ,१३ जेष्ठ//
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ को कभर डिजाइनमा परिवर्तन गरेका छन् ।
हरेक वर्ष निलो रङको गातामा प्रकाशित हुँदै आएको आर्थिक सर्वेक्षण यस वर्ष भने हल्का सुनौलो रङको आवरणमा सार्वजनिक गरिएको छ । कभरमा सुनौलो सिक्काको डिजाइनसमेत प्रयोग गरिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि सरकारले आर्थिक सर्वेक्षण संसद्मा पेश गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार अर्थमन्त्री वाग्लेले बुधबार संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।
आर्थिक सर्वेक्षणमा देशको आर्थिक तथा सामाजिक क्षेत्रका तथ्यांक, सार्वजनिक वित्त, मौद्रिक अवस्था, बाह्य क्षेत्रलगायतका सूचक समेटिने गरिन्छ ।
पूर्वअर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत कभर परिवर्तनलाई संकेतात्मक रूपमा सकारात्मक टिप्पणी गर्दै “आवरण पृष्ठबाट परिवर्तन सुरु भयो, तर यो परिवर्तन कस्मेटिक मात्रै नहोस्” लेखेका छन् ।
अर्थ मन्त्रालयका पूर्वअधिकारीहरूका अनुसार लामो समयपछि कभरको रंग परिवर्तन गरेर सरकारले नयाँ सन्देश दिन खोजेको हुन सक्ने अनुमान गरिएको छ ।