काठमाडौं ,१३ जेष्ठ//
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको कुल भूभागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकिएको छ ।
सर्वेक्षणअनुसार कुल भूभागमध्ये ४३.३८ प्रतिशत क्षेत्रमा वन र २.७० प्रतिशत क्षेत्रमा झाडी तथा बुट्यान रहेका छन् ।
सरकारले चालु आर्थिक वर्षको फागुनसम्म वन क्षेत्रबाट १ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन भएको जनाएको छ ।
वन क्षेत्रका विभिन्न गतिविधिबाट आर्थिक वर्ष २०८१/८२ मा ४१ लाख श्रमदिन रोजगारी सिर्जना भएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म १९ लाख १५ हजार ३१८ कार्यदिन बराबरको रोजगारी सिर्जना भएको सर्वेक्षणमा उल्लेख छ ।
त्यस्तै नेपालको कुल भूभागको २३.४ प्रतिशत अर्थात् ३४ हजार ४२० वर्ग किलोमिटर क्षेत्र संरक्षित क्षेत्रअन्तर्गत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।