काठमाडौं ,१३ जेष्ठ//
राष्ट्रिय मानव अधिकार आयोगले ‘हामी नेपाल’ संस्थाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङसहित जेनजी आन्दोलनका आयोजकमाथि थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ ।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा शान्तिपूर्ण कार्यक्रम गर्ने प्रतिबद्धताविपरीत हिंसात्मक गतिविधि भएको निष्कर्ष निकाल्दै आयोगले यस्तो सिफारिस गरेको हो ।
आयोगको प्रतिवेदनअनुसार आयोजकहरूले जिल्ला प्रशासन कार्यालयबाट शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति लिएका थिए । तर प्रदर्शन हिंसात्मक बन्दै तोडफोडसम्म पुगे पनि आयोजकहरूले त्यसलाई नियन्त्रण गर्न नसकेको आयोगले उल्लेख गरेको छ ।
थप अनुसन्धानको सिफारिस गरिएका व्यक्तिहरूमा ‘हामी नेपाल’ का अध्यक्ष सुधन गुरुङ, पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेमराज साउड रहेका छन् ।
आयोगले प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको कारण आयोजकहरूको फितलो व्यवस्थापनलाई पनि मानेको छ ।
भविष्यमा यस्ता कार्यक्रमलाई थप जिम्मेवार बनाउन र घटनाको वास्तविकता पत्ता लगाउन सम्बन्धित व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको आयोगले जनाएको छ ।