काठमाडौं ,१३ जेष्ठ//
सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत प्रदान हुँदै आएका आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट बीमा सेवा बन्द गर्ने निर्णय गरेको हो ।
बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार जेठ ११ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । आकस्मिक सेवा भने यथावत रहने जनाइएको छ ।
यस निर्णयसँगै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधिलगायत नियमित सेवा प्रभावित हुने भएका छन् ।
स्वास्थ्य बीमा बोर्डका अनुसार हाल सेवाप्रदायक संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
निजी अस्पतालहरूले लामो समयदेखि बीमावापतको रकम नपाएको गुनासो गर्दै आएका थिए । स्वास्थ्य क्षेत्रका जानकारहरूले वित्तीय व्यवस्थापन र दिगोपनामा ध्यान नदिँदा स्वास्थ्य बीमा कार्यक्रम संकटमा पुगेको बताएका छन् ।