काठमाडौं,१४ जेष्ठ//
बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा दुई हजार ५५ सवारीचालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ११ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८३ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १९२ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १०९ जना तथा तीव्र गतिमा सवारी चलाउने १०२ जना रहेका छन् ।
त्यस्तै लेन अनुशासन पालना नगर्ने १४६, निषेधित क्षेत्रमा हर्न बजाउने १०३, सडक पेटीमा पार्किङ गर्ने ११२, एकतर्फी सडकमा सवारी चलाउने ८५ तथा अन्य नियम उल्लङ्घन गर्ने एक हजार १२३ जनामाथि पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।