काठमाडौं ,१४ जेष्ठ//
आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने उदयपुर रौतामाई गाउँपालिका–४ घर भएका ४५ वर्षीय रामबहादुर आले मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने सिराहा लहान नगरपालिका–६ घर भएका ३२ वर्षीय आशिष कार्की, काठमाडौं टोखा नगरपालिका–४ बस्ने ७९ वर्षीय लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ बस्ने ४१ वर्षीया तुलसा पुन मगर, काठमाडौं महानगरपालिका–२९ बस्ने पाल्पा तानसेन नगरपालिका–७ घर भएका ४८ वर्षीय कृष्णप्रसाद पोखरेल तथा काठमाडौं चन्द्रागिरी नगरपालिका–११ बस्ने २९ वर्षीय प्रबिन श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार रामबहादुरले “क्यानडा पठाइदिन्छु” भन्दै ४ जना पीडितबाट ३९ लाख ५८ हजार रुपैयाँ ठगी गरेका थिए । त्यसैगरी आशिषले “न्यूजिल्याण्ड पठाइदिन्छु” भन्दै ३ जना पीडितबाट १३ लाख रुपैयाँ उठाएका थिए ।
यस्तै, लोकबहादुरले “युके पठाइदिन्छु” भन्दै १ जनाबाट १९ लाख रुपैयाँ, तुलसाले “अमेरिका पठाइदिन्छु” भन्दै १ जनाबाट १० लाख रुपैयाँ, कृष्णप्रसादले “यूएई पठाइदिन्छु” भन्दै १ जनाबाट १० लाख रुपैयाँ तथा प्रबिनले “सर्बिया पठाइदिन्छु” भन्दै १ जनाबाट ६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका रामबहादुर र आशिषलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । साथै लोकबहादुर, तुलसा, कृष्णप्रसाद र प्रबिनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।