काठमाडौं ,१४ जेष्ठ//
नेपाली कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको भदौ २३–२४ को आन्दोलनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले बुधबार सार्वजनिक आयोगको प्रतिवेदनलाई आधार बनाउँदै सरकारलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
पार्टीले आयोगका सिफारिसहरू संवैधानिक दायराभित्र रही तत्काल कार्यान्वयन गर्न तथा घटनाबारे सरकारको स्पष्ट धारणा र जवाफदेहिता प्रस्तुत गर्न माग गरेको छ ।
कांग्रेसले आन्दोलनका क्रममा राज्यका तर्फबाट भएको अत्यधिक बल प्रयोग र हिंसात्मक गतिविधिमा संलग्न भनिएका व्यक्ति वा निकायमाथि राजनीतिक दबाबमुक्त ढंगले कानुनी कारबाही अघि बढाउन आग्रह गरेको छ ।
त्यस्तै ज्यान गुमाएका तथा घाइते भएका नागरिकका परिवारलाई न्याय, राहत र पुनर्स्थापनाको उचित व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।
निजी क्षेत्रले बेहोरेको क्षतिको उचित क्षतिपूर्ति, सुरक्षा निकायको मानवअधिकारमैत्री सुधार तथा गौरीबहादुर कार्की आयोगमाथि समेत थप अनुसन्धान गर्नुपर्ने विषय कांग्रेसले उठाएको छ ।