काठमाडौं ,१४ जेष्ठ//
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ ।
आगामी बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको संसदीय दलको बैठकपछि बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले यस्तो बताएकी हुन् ।
उनले विगतमा बजेट भौतिक पूर्वाधारमा बढी केन्द्रित हुने गरेको उल्लेख गर्दै यसपटक आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने कांग्रेसको धारणा रहेको बताइन् ।
‘विगत केही वर्षदेखि सरकार परिवर्तन भइरहँदा बजेट कार्यान्वयन सन्तोषजनक छैन । यसपटकको बजेटमा पूर्वाधारभन्दा स्वास्थ्य र शिक्षालाई बढी प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता छ,’ थापाले भनिन् ।
बैठकमा संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिबारे पनि छलफल भएको थियो ।
सरकारले प्रतिपक्षको आवाजलाई बेवास्ता गरेको तथा प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ ।
‘सरकारसँग झन्डै दुई तिहाइ समर्थन भए पनि त्यसको सही उपयोग हुन सकेको छैन । प्रतिपक्षका सुझाव र आवाजलाई समेट्ने अभ्यास कमजोर भएको छ,’ थापाको भनाइ थियो ।