काठमाडौं ,१७ जेष्ठ//
प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोलाकिनारमा रहेका सुकुमबासी बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम सरकारले अघि बढाएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय तहको नेतृत्वमा रहँदा नै यस विषयमा सङ्घ सरकारको ध्यानाकर्षण गराएको स्मरण गरे ।
प्रधानमन्त्री शाहले सुकुमबासी बस्तीबाट स्थानान्तरण गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकहरूको जग्गा व्यवस्थापन सरकारले गर्ने बताए । यो विषय आफ्नो नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।
उनले काठमाडौँलाई सुकुमबासी व्यवस्थापनको पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पार्दै खोलाकिनारमा बसोबास गर्ने नागरिकको जोखिमपूर्ण जीवन जोगाउने उद्देश्यले यस्तो कदम चालिएको बताए ।
जग्गा उपलब्ध गराउने विषयमा तीन वटा मन्त्रालयले समन्वय गरेर काम गरिरहेको जानकारी दिँदै उनले व्यवस्थापन प्रक्रिया पूरा हुन केही समय लाग्ने बताए ।
‘३५ वर्षमा नभएको काम ३५ मिनेटमा खोज्नु हुँदैन,’ प्रधानमन्त्री शाहले सांसदहरूलाई सम्बोधन गर्दै भने ।