काठमाडौं,१७ जेष्ठ//
प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक पारित गरेको हो ।
विधेयकमाथि छलफलका क्रममा विभिन्न सांसदहरूले समावेशीता र प्रतिनिधित्वसम्बन्धी प्रावधानलाई थप स्पष्ट र प्रभावकारी बनाउन तीन वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । तर, अन्ततः सबै संशोधन प्रस्ताव फिर्ता लिइएका छन् ।
विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दिएकी थिइन् ।
मन्त्री गौतमले मधेशी दलित, पिछडिएको समुदाय तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्ने विषय सकारात्मक रहेको र त्यसको मर्म विधेयकको मूल व्यवस्थामै समेटिएको बताइन् ।
उनले निर्वाचनसम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न नयाँ विधेयक तर्जुमा भइरहेको जानकारी दिँदै सांसदहरूले उठाएका सुझाव र संशोधनका विषयलाई त्यसमा समेट्ने प्रतिबद्धता व्यक्त गरिन् ।