काठमाडौं ,१७ जेष्ठ//
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको २० खर्ब रुपैयाँको बजेटले मात्रै आर्थिक वृद्धि हासिल हुन्छ भन्ने बुझाइ गलत भएको बताएका छन् ।
आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको अर्थतन्त्र करिब ७० खर्ब रुपैयाँको रहेको उल्लेख गर्दै सरकारको ध्यान बजेटको आकारभन्दा समग्र अर्थतन्त्र विस्तारमा केन्द्रित रहेको बताए ।
‘सरकारको २० खर्ब रुपैयाँको बजेटले अर्थतन्त्रलाई सहजीकरण गर्ने हो । अर्थतन्त्र आफैं करिब ७० खर्ब रुपैयाँको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘२० खर्ब खर्च गरेर मात्रै ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ भन्ने भ्रमबाट बाहिर निस्कन आवश्यक छ ।’
उनले बजेट निर्माणका क्रममा सरकारले २० खर्ब रुपैयाँको बजेटभन्दा पनि ७० खर्ब रुपैयाँको समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेर योजना बनाएको बताए ।
अर्थमन्त्री वाग्लेका अनुसार सरकारले निर्माण गर्ने सडक, विद्युत्, शान्ति–सुरक्षा तथा न्याय प्रणालीजस्ता आधारभूत पूर्वाधार र सेवाले निजी क्षेत्रको आत्मविश्वास बढाउनेछ । त्यसबाट निजी लगानी आकर्षित भई आर्थिक गतिविधि विस्तार हुने सरकारको अपेक्षा रहेको उनले बताए ।
उनले आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई ७० खर्ब रुपैयाँबाट १०० खर्ब हुँदै १५० खर्ब रुपैयाँसम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।
वाग्लेले राज्य आफैंले सबै क्षेत्रमा लगानी र सञ्चालन गर्ने मोडलभन्दा बलियो तथा प्रभावकारी नियामक राज्यको अवधारणालाई सरकारले प्राथमिकतामा राखेको पनि स्पष्ट पारे ।