भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार बेलुका देशमा आएको ठुलो भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको र ७०० भन्दा बढी घाइते भएको जानकारी दिएकी छन्।
भेनेजुएलामा बुधबार बेलुका लगातार दुई शक्तिशाली भूकम्प गएपछि त्यहाँका राष्ट्रपतिले पहिलोपटक मृतक र घाइतेको तथ्यांक दिएकी हुन्।
यसअघि अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भूकम्पमा १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत रहेको अनुमान गरेको थियो।
स्थानीय समयअनुसार बुधबार साँझ भेनेजुएलामा ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डपछि अझ शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्प गएको हो।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति रोड्रिगेजले भूकम्पछि राष्ट्रलाई सम्बोधन गर्दै आपत्कालीन अवस्था घोषणा गरेकी छन्।
भेनेजुएलामा किन गयो भूकम्प?
भेनेजुएला भूकम्पको उच्च जोखिम भएको क्षेत्रमा अवस्थित छ। दुई टेक्टोनिक प्लेट छन्- क्यारिबियन प्लेट र दक्षिण अमेरिकी प्लेट। जुन यही देशमा मिल्छन्।
संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार बुधबारका दुई भूकम्पमध्ये दोस्रो र बढी शक्तिशाली झट्का यी प्लेटबिचको सीमानजिक भएको हलचलका कारणले गएको थियो।
यसको अर्थ प्लेटबिचको फल्ट लाइन तेर्सो रूपमा सर्दै छन्। जब यो चाल अचानक र तीव्र गतिमा हुन्छ, भूकम्प आउँछ।
यूएसजीएसले भनेको छ, ‘यद्यपि नक्सामा भूकम्पलाई एकै बिन्दुको रूपमा देखिएको छ, तर यो तीव्रताको भूकम्प वास्तवमा एक ठुलो फल्ट एरियामा भएको स्लिपका रूपमा बुझ्नु बढी उपयुक्त हुन्छ।’
एजेन्सीका अनुसार बुधबारका दुई भूकम्पले सम्भवतः ‘एक जटिल र्याप्चर इन्टर्याक्सन प्रोसेस’लाई संकेत गर्छन्।
यूएसजीएसले यो पनि चेतावनी दिएको छ, ‘अझै भूकम्प आउन सक्छन् र केही झट्का अझ शक्तिशाली पनि हुन सक्छन्।’