रौतहट, ११ असार । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार साँझ करिब ७ बजे कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले सडकमा रहेको बाख्रालाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–५ निवासी २३ वर्षीय आमोद चौधरी र पछाडि सवार सोही स्थानका २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा दिपेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
घाइते मोटरसाइकल चालक आमोद चौधरीको अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरी चौकी हरिनगरबाट खटिएको टोलीले घटनास्थलको निरीक्षण गरेको तथा दुर्घटनामा संलग्न मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
फोटोःअनलाइन खबर