रौतहटको गौरस्थित एक निजी विद्यालयमा होमवर्क नगरेको भन्दै कक्षा पाँचमा अध्ययनरत दुई विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेका छन्। घटनापछि विद्यालयले अभिभावकसँग माफी मागेको छ भने सम्बन्धित निकायले छानबिन गर्ने जनाएको छ।
गौर–बरहवा पुलको उत्तरतर्फ रहेको बालनिकेतन बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा पाँचका दुई विद्यार्थीलाई विद्यालयका प्रिन्सिपलकी छोरीले पाइपले कुटपिट गरेको पीडित अभिभावकको आरोप छ। अभिभावकका अनुसार ती महिला विद्यालयकी नियमित शिक्षिकासमेत होइनन्।
कुटपिटका कारण विद्यार्थीको दुवै खुट्टामा रातो डाम र चोट लागेको परिवारले जनाएको छ। घटनापछि बालबालिका शारीरिक मात्रै होइन, मानसिक रूपमा पनि त्रसित बनेको उनीहरूको भनाइ छ।
अभिभावकहरूले विद्यालयमा यसअघि पनि विद्यार्थीमाथि दुर्व्यवहार हुने गरेको भन्दै दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
घटनापछि आक्रोशित अभिभावकसँग विद्यालय प्रशासनले माफी मागेको बताइएको छ। स्थानीयवासी र अभिभावकहरूले विद्यालयमा हुने शारीरिक दण्डले बालअधिकारको गम्भीर उल्लंघन हुने भन्दै यस्ता घटनामा कडाइका साथ कानुन कार्यान्वयन हुनुपर्ने बताएका छन्।
गौर नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम भट्टराईले घटनाबारे सोमबार मात्रै जानकारी प्राप्त भएको भन्दै विद्यालयमा अनुगमन गरी यथार्थ छानबिन गरिने बताए। ‘घटनामा संलग्न व्यक्ति दोषी देखिए कानुनबमोजिम आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइनेछ,’ उनले भने।