मनसुन सुरु भएसँगै देशका अधिकांश सडकको वास्तविक अवस्था सतहमा आउन थालेको छ। केही दिनको वर्षाले नै कालोपत्रे सडक भासिने, पुल–पुलेसा जोखिममा पर्ने, हिलो र खाल्डाखुल्डीले यात्रा कष्टकर बन्ने दृश्य अब नौलो रहेन। विशेष गरी तराई–मधेशका जिल्लाहरूमा वर्षायामले सडकको कमजोर गुणस्तर र विकास निर्माणमा देखिएको लापरबाहीलाई हरेक वर्ष उजागर गर्दै आएको छ।
रौतहट पनि यस समस्याबाट अछुतो छैन। जिल्लाका ग्रामीण सडकदेखि केही मुख्य सडकसम्म वर्षा लाग्नासाथ हिलाम्मे हुने, पानी जम्ने र आवागमन अवरुद्ध हुने समस्या दोहोरिन्छ। कतिपय स्थानमा सामान्य वर्षाले पनि एम्बुलेन्स, विद्यालयका सवारीसाधन र कृषि उत्पादन ओसारपसारमा कठिनाइ सिर्जना हुन्छ। यसले विकासका ठूलाठूला दाबीभन्दा नागरिकले दैनिक भोग्नुपर्ने वास्तविक समस्यालाई उजागर गर्छ।
सडक केवल यातायातको माध्यम मात्र होइन, यो शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र समग्र आर्थिक गतिविधिको मेरुदण्ड हो। एउटा सडक बिग्रँदा किसानले उत्पादन बजारसम्म पु¥याउन सक्दैन, बिरामी समयमै अस्पताल पुग्न सक्दैन, विद्यार्थी विद्यालय जान सक्दैनन् र स्थानीय व्यापार सुस्ताउँछ। त्यसैले सडकको गुणस्तर विकासको सूचक मात्र नभईनागरिकको जीवनस्तरसँग प्रत्यक्ष जोडिएको विषय हो।
हरेक वर्ष सडक मर्मतका लागि बजेट छुट्याइन्छ ।
नयाँ सडक निर्माणका योजना पनि सार्वजनिक हुन्छन्। तर निर्माण सम्पन्न भएको केही महिनामै सडक भत्किने, नाली नबन्दा पानी जम्ने र गुणस्तरहीन निर्माणका गुनासा बढिरहनुले प्रणालीमै कमजोरी रहेको स्पष्ट देखिन्छ। ठेक्का व्यवस्थापन, निर्माण सामग्रीको गुणस्तर, प्राविधिक अनुगमन र जिम्मेवारी वहन गर्ने निकायबीचको समन्वय कमजोर हुँदा सार्वजनिक लगानीको प्रतिफल नागरिकले पाउन सकेका छैनन्।
समस्या केवल निर्माणमा मात्र होइन, मर्मत संस्कृतिमा पनि छ। सडक बिग्रिएपछि मात्र काम सुरु गर्ने प्रवृत्तिले लागत बढाउँछ र जनताले अनावश्यक दुःख पाउँछन्। नियमित निरीक्षण, समयमै मर्मत र वर्षायामअघि आवश्यक पूर्वतयारी गर्न सकिए धेरै क्षति रोक्न सकिन्छ। यसमा स्थानीय सरकारको भूमिका विशेष महत्त्वपूर्ण हुन्छ।
अर्कोतर्फ, सडक किनारमा अनियन्त्रित संरचना निर्माण, नाली अतिक्रमण, पानी निकासको बेवास्ता र योजनाविहीन शहरीकरणले पनि समस्या बढाएको छ। विकासलाई दिगो बनाउन सडकसँगै जलनिकास, पुल, कल्भर्ट र वातावरणीय पक्षलाई पनि समान प्राथमिकता दिनुपर्छ। केवल कालोपत्रे गर्नु विकास होइन, त्यो वर्षौंसम्म टिक्ने गरी निर्माण गर्नु नै वास्तविक विकास हो।
अब नागरिकले उद्घाटन समारोहभन्दा गुणस्तरीय सेवा खोजिरहेका छन्। विकासको मूल्याङ्कन शिलान्यासका तस्बिरले होइन, नागरिकले सहज रूपमा यात्रा गर्न पाएको अनुभूतिले हुन्छ ।
त्यसैले निर्माण व्यवसायीले आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्छ, प्राविधिक निकायले कडाइका साथ अनुगमन गर्नुपर्छ र जनप्रतिनिधिले जनताको करबाट बनेका संरचनाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ।
मनसुनले हरेक वर्ष एउटा सन्देश दिन्छ—कमजोर योजना, गुणस्तरहीन निर्माण र लापरबाही प्रकृतिसामु टिक्दैन ।
अब पनि विगतबाट पाठ नसिक्ने हो भने हरेक वर्ष सडक भत्किने, बजेट खर्च हुने र नागरिकले सास्ती भोग्ने चक्र दोहोरिरहनेछ। विकासलाई भाषणबाट होइन, गुणस्तर, पारदर्शिता र जिम्मेवारीबाट प्रमाणित गर्ने समय अब आइसकेको छ।