रौतहट, १८ असार ।
वैदेशिक रोजगारीका क्रममा ठगी, शोषण तथा प्रक्रियागत जटिलतामा परेका श्रमिक र उनीहरूका परिवारलाई न्याय दिलाउन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रौतहटमा प्रभावकारी रूपमा अघि बढेको देखिएको छ ।
नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय सहकार्यमा सञ्चालित सामी परियोजनाले विगत पाँच वर्षदेखि सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन, सूचना प्रवाह तथा पीडितलाई न्याय दिलाउने कार्यमा उल्लेखनीय सफलता हासिल गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा बैठकमा सार्वजनिक गरिएको विवरण अनुसार असार १७ गतेसम्म आप्रवासी स्रोत केन्द्रमार्फत ६ हजार १३५ जना सेवाग्राहीलाई सूचना तथा परामर्श सेवा प्रदान गरिएको छ ।
सामी कार्यक्रमकी सूचना तथा परामर्शकर्ता पूजा गिरीका अनुसार आप्रवासी स्रोत उपकेन्द्र मार्फत १ हजार २१८ जनाले प्रत्यक्ष सूचना तथा परामर्श सेवा प्राप्त गरियो । समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम मार्फत २६७ जनालाई सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिइएको छ भने २ हजार ७१४ जनाले रिटर्नी स्वयंसेवक मार्फत आवश्यक सूचना तथा सचेतना प्राप्त गरेको उनले भनिन ।
जिल्ला कार्यक्रम संयोजक विनयकुमार साहले प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा वैदेशिक रोजगार ठगीका उजुरी समाधान गर्दै पीडितलाई ९० लाख ७ हजार ७ सय रुपैयाँ एजेन्टबाट फिर्ता गराउन सफल भएको जानकारी दिए । साथै प्रमुख जिल्ला अधिकारीको कार्यालय मार्फत वैदेशिक रोजगार विभागमा सिफारिस भई समाधान भएका उजुरीमध्ये थप ५ लाख रुपैयाँ पीडितले फिर्ता पाएको उनले बताए ।
त्यसैगरी वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने आर्थिक सहायता प्राप्त गर्न गरिएको सहजीकरणबाट सेवाग्राहीले हालसम्म ३६ लाख ७५ हजार रुपैयाँ आर्थिक सहायता प्राप्त गरेका छन् ।
संयोजक साहका अनुसार रौतहटको माधवनारायण नगरपालिका–दिपही निवासी एक श्रमिकको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएपछि उनका आश्रित परिवारलाई वैदेशिक रोजगार बोर्ड मार्फत ६१ लाख ४५ हजार ८२६ रुपैयाँ राहत उपलब्ध गराइएको छ ।
े