रौतहट, १८ असार । रौतहटका सत्येन्द्र पाण्डेले आफू विगत १०८४ दिनदेखि न्यायको खोजीमा रहेको दाबी गर्दै आफ्नो बीमा विवादमा निष्पक्ष छानबिन र कानुन सम्मत न्यायको माग गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत सार्वजनिक अपिल जारी गर्दै पाण्डेले नेपाल बीमा प्राधिकरण, नेपाल प्रहरी, राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित निकायमा पटक–पटक प्रमाण सहित निवेदन दिँदा पनि हालसम्म न्याय नपाएको दाबी गरेका हुन् ।
उनले आफ्नो मुद्दालाई तथ्यका आधारमा अनुसन्धान गरी वास्तविकता सार्वजनिक गरिदिन वरिष्ठ पत्रकार ऋषि धमला तथा राष्ट्रिय सञ्चार माध्यमसँग विशेष आग्रह गरे ।
एलआईसी नेपाल लिमिटेडबाट पीडित रहेको पाण्डेका अनुसार, यदि आफू दोषी भएको प्रमाणित भए कानुन बमोजिम कारबाही भोग्न तयार रहेको, तर आफू पीडित भएको पुष्टि भए दोषीमाथि पनि कानुनी कारबाही हुनुपर्ने उनको माग छ । उनले १०८४ दिनसम्म पनि आफ्नो मुद्दा निष्कर्षमा नपुग्नु न्याय प्रणाली र सुशासनप्रतिको गम्भीर प्रश्न भएको दाबी गरे ।
एलआईसी नेपाल लिमिटेड सँग सम्बन्धित आफ्नो विवादमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग उठाए । साथै उनले राज्यका जिम्मेवार निकाय, जनप्रतिनिधि तथा सञ्चार माध्यमले आफ्नो आवाज सुनेर न्याय दिलाउने दिशामा प्रभावकारी पहल गरिदिन आग्रह गरे । समयमै कानुन सम्मत न्याय प्राप्त नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत पीडित पाण्डेले दिए ।
यस विषयमा पाण्डेले लगाएका आरोपबारे सम्बन्धित निकाय तथा एलआईसी नेपाल लिमिटेडको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।