रौतहट, गौर — जिल्ला प्रशासन कार्यालय रौतहटले सुर्तीजन्य पदार्थको अवैध बिक्री–वितरण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। विद्यालय, स्वास्थ्य संस्था तथा अन्य संवेदनशील क्षेत्रको १०० मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री गरेको पाइए कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने जनाएको हो। ऐनअनुसार १८ वर्ष नपुगेका व्यक्ति तथा गर्भवती महिलालाई चुरोट, बिडी, सिगारलगायत कुनै पनि सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन पाइँदैन।
यस्तै शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा सरकारले तोकेका सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटरभित्र रहेका पसल वा घरबाट सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न पनि कानुनले निषेध गरेको छ। उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीलाई ऐनको दफा १७ अनुसार दण्ड–सजाय हुने प्रशासनले जनाएको छ।
बालबालिका, विद्यार्थी तथा गर्भवती महिलामा सुर्तीजन्य पदार्थको पहुँच बढ्दै गएको र त्यसबाट स्वास्थ्य तथा सामाजिक समस्या सिर्जना भएको गुनासो आएपछि सूचना जारी गरिएको प्रशासनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभूषण शाहका अनुसार सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि स्थानीय तह, प्रहरी र सम्बन्धित निकायसँग समन्वय गरेर अनुगमनलाई प्रभावकारी बनाइनेछ। उनले कानुनी व्यवस्था कार्यान्वयनमा सबै व्यवसायी र सर्वसाधारणको सहयोग आवश्यक रहेको बताए।