रौतहट । रौतहट सदरमुकाम गौरस्थित एक होटलमा एक महिलामाथि जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग भएको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि पीडितले दिएको सूचनाका आधारमा तत्काल प्रहरी परिचालन गरिएको र घटनामा संलग्न रहेको आरोप लागेका पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असार २१ गते बिहान करिब १ बजे गौर नगरपालिका–२ स्थित एक होटलमा एक महिलामाथि जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा गौर नगरपालिका–२ निवासी २५ वर्षीय सन्तोष राउत रहेका छन्। त्यस्तै भारतको बिहार राज्य, मजफ्फरपुर जिल्लाका ३३ वर्षीय मो. ताजुदिन, ३७ वर्षीय जितेन्द्र कुमार, ३८ वर्षीय हसनैन आलम र ३४ वर्षीय आलोक कुमार पनि पक्राउ परेका छन्।
प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै होटलसँग सम्बन्धित विवरण, उपलब्ध प्रमाण र पीडितको बयानका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योगसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
घटनाको थप अनुसन्धान जारी रहेकाले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।