रौतहट, असार २३ । रौतहट प्रहरीले छुट्टाछुट्टै स्थानमा गरेको चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका एक लाख १८ हजार ९ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आइतबार बिहान करिब ५ बजे प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी टोलीले परोहा नगरपालिका–८ मा नियमित सवारी तथा सामान चेकजाँच गरिरहेको थियो। सोही क्रममा भारतबाट चोरीपैठारी गरी मोटरसाइकलमा लोड गरेर नेपालतर्फ ल्याइँदै गरेको सामान बोकेको मोटरसाइकल प्रहरीको निगरानीमा परेपछि चालक मोटरसाइकल छाडेर फरार भएका थिए।
प्रहरीले बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर ८८द्यच्३०त्त६१३५८८ मोटरसाइकल र त्यसमा लोड गरिएको करिब ४९ हजार रुपैयाँ बराबरको ८८उषा पोली वायर (विद्युतीय तार)८८ नियन्त्रणमा लिएको जनाएको छ। बरामद मोटरसाइकलको अनुमानित मूल्य करिब ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यसअघि शनिबार बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट खटिएको प्रहरी टोलीले गुजरा नगरपालिका–३ स्थित जंगलसहिया–धनसर सडकखण्डमा चेकजाँच गरिरहेको थियो। त्यस क्रममा भारतबाट युरिया मल बोकेर आउँदै गरेका ८८ना ५५ प ७३३१८८ र ८८ना ३१ प ४०७३८८ नम्बरका दुई मोटरसाइकललाई प्रहरीले रोक्न खोजेको थियो।
तर प्रहरी टोली देख्नासाथ दुवै मोटरसाइकलका चालकहरूले मोटरसाइकलमा लोड गरिएको मल सडकमै छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनास्थलबाट ११ बोरा युरिया मल बरामद गरिएको छ। उक्त मलको अनुमानित मूल्य ९ हजार ९ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
दुवै कारबाहीमा बरामद गरिएका विद्युतीय तार, मोटरसाइकल र युरिया मल गरी कुल एक लाख १८ हजार ९ सय रुपैयाँ बराबरका भन्सार छलिका सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। फरार भएका मोटरसाइकल चालक तथा तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र सीमावर्ती क्षेत्रमा भन्सार छली तथा चोरीपैठारी नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले जनाएको छ।