रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको विषयलाई लिएर भएको विवादमा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार राति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबीच जग्गाको विषयमा विवाद हुँदा झैँझगडा र कुटपिट भएको प्रहरीले जनाएको छ।
विवादका क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट बुटन साहको ढाड (पिठ्युँ) मा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा राति करिब ९ः०५ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा रामबहादुर साह पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ भने स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि तत्काल खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न आरोपित राममहेश्वर साह तथा झैँझगडामा संलग्न रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।