रौतहट ३१ असार
जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका–९ गम्हरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजेको समयमा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका हुन्।
पारिवारिक स्रोत तथा स्थानीय जनप्रतिनिधिका अनुसार सहनी केही समयदेखि मानसिक तनावमा थिए। घरायसी तनाव र डिप्रेसनका कारण उनले राति घरमा राखिएको आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएको गरुडा–९ का वडा अध्यक्ष राजेश सहनीले जानकारी दिए।
घटनालगत्तै परिवारका सदस्य र छिमेकीहरूले उद्धार गरी उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाका अनुसार आगोबाट सहनीको घाँटीमुनिको भाग जलेको छ। उनको शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जनाए ।
बेटर नेपाल अस्पतालमा प्राथमिक उपचार गरिए तापनि चोटको गम्भीरतालाई ध्यानमा राख्दै चिकित्सकको सल्लाह र प्रहरीको समन्वयमा उनलाई बुधबार बिहान थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल काठमाडौं रिफर गरिएको छ।
पीडित सहनी गरुडा बजारस्थित झाझ पुल नजिकै सानो छाप्रे होटल सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायको आम्दानीबाट उनले आफ्ना तीन छोरा, श्रीमती र आमाबुबा सहितको परिवारको जीविकोपार्जन गर्दै आएका थिए। व्यवसायमा आएको मन्दी वा अन्य घरायसी कारणले उनी केही समयदेखि गम्भीर मानसिक दबाबमा रहेको स्थानीयको अनुमान छ।
यसैबीच घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बिर्ता र इलाका प्रहरी कार्यालय गरुडाको टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको छ। प्रहरीको प्रारम्भिक बुझबुझातका क्रममा निज सहनीले मानसिक समस्याका कारण विगतदेखि नै औषधि सेवन गर्दै आएको र घटनाको समयमा मादक पदार्थ सेवन गरेको समेत परिवारका सदस्यहरूबाट खुलेको छ।
युवकले यस्तो आत्मघाती र कठोर कदम चाल्नुको मुख्य कारण र घटनाको पृष्ठभूमिबारे प्रहरीले अन्य सम्भावित कोणहरूबाट थप विस्तृत अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।