रौतहट, असार ३१ । पछिल्ला केही दिनयता देशका विभिन्न जिल्लामा आत्मदाह प्रयासका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन्। मुगुका गणेश नेपालीको आत्मदाहपछि,काठमाणडौ बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, सर्लाहीका विवेक मण्डल पछि बुधबार रौतहटमा पनि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। यससँगै आत्मदाह प्रयासका घटना लगातार दोहोरिन थालेपछि समाजमा बढ्दो मानसिक तनाव र त्यसको प्रभावबारे गम्भीर बहस सुरु भएको छ।
रौतहटको गरुडा नगरपालिका–९ गम्हरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका हुन्।
परिवारका सदस्य र छिमेकीले तत्काल उद्धार गरी उनलाई गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार आगलागीबाट सहनीको घाँटीमुनिको भागसहित शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।
बेटर नेपाल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुधबार बिहान उनलाई काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
गरुडा–९ का वडा अध्यक्ष राजेश सहनीका अनुसार गौतम केही समयदेखि मानसिक तनाव र डिप्रेसनबाट पीडित थिए। उनले घरमा रहेको आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सहनी मानसिक समस्याका कारण लामो समयदेखि औषधि सेवन गर्दै आएका थिए। घटनाको समयमा उनले मादक पदार्थसमेत सेवन गरेको परिवारका सदस्यले बताएका छन्। घटनाको वास्तविक कारण खुलाउन इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान अघि बढाएको छ।
पीडित सहनी गरुडा बजारस्थित झाझ पुल नजिक सानो होटल सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायबाट तीन छोरा, श्रीमती तथा आमाबुबासहितको परिवारको पालनपोषण गर्दै आएका उनी व्यवसायमा आएको मन्दी र पारिवारिक तनावका कारण केही समयदेखि चिन्तित रहेको स्थानीयको भनाइ छ।
पछिल्ला दिनमा सार्वजनिक भएका यस्ता घटनाले मानसिक स्वास्थ्य, आर्थिक दबाब र सामाजिक समस्याले व्यक्तिलाई कति गम्भीर अवस्थामा पुर्याउन सक्छ भन्ने प्रश्न उठाएको छ। मुगुका गणेश नेपालीको आत्मदाहपछि,काठमाणडौ बुद्धनगरका ४५ वर्षीय आश्विनराउत, सर्लाहीका विवेक मण्डल पछि रौतहटमा भएको यो घटना देशकै चौथो आत्मदाह प्रयासका रूपमा देखिएको छ। चार जनाको आत्मदाहमा पहिला तीनजनाले ज्यान गुमाइसकेको छ ।
लगातार यस्ता घटना दोहोरिन थालेपछि मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउने, तनावमा रहेका व्यक्तिको समयमै पहिचान गर्ने र परिवार तथा समुदायबाट आवश्यक सहयोग उपलब्ध गराउने विषयमा सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता औँल्याइएको छ।