रौतहट ३१ असार
जिल्लाको ईशनाथ नगरपालिका–४ लतमरी स्थित स्थानीय पोखरीमा हाम फालेर बेपत्ता भएका एक भारतीय युवक बुधबार बिहान मृत फेला परेका छन् । गत मंगलबार राति पोखरीमा हाम फालेका भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला ढाका ग्राम पञ्चायत वडा नं. २३ बस्ने लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिर (ओजिर) को शव बुधबार बिहान फेला परेको हो ।
प्रहरीका अनुसार मंगलबार गए राति अन्दाजी ९:३० बजेको समयमा ईशनाथ नगरपालिका– वडा नं. ४ स्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा ती युवकले अचानक हाम फालेका थिए । स्थानीय बासिन्दाले युवक पोखरीमा हाम फालेको देखेपछि तत्कालै प्रहरी चौकी मठियामा खबर गरेका थिए ।
खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी चौकी मठियाबाट प्रहरी हवल्दार राज कर्ण राउतको कमाण्डमा ३ जना र सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट औरैयाबाट सशस्त्र प्रहरी निरीक्षक दल बहादुर कुँवरको कमाण्डमा १० जनाको संयुक्त टोली घटनास्थलमा पुगेको थियो । रातको समय भएकाले तत्काल खोजी कार्य प्रभावित भए पनि सुरक्षाकर्मीहरू घटनास्थलमै केन्द्रित रहेका थिए ।
बुधबार बिहानैदेखि बेपत्ता युवकको खोजीका लागि थप विशेष टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस फतुवाबाट सशस्त्र प्रहरी निरीक्षक राजन चन्दको कमाण्डमा ७ जनाको विपद् व्यवस्थापन टोली र बीओपी औरैया तथा स्थानीय प्रहरीको संयुक्त टोली गरी १७ जनाभन्दा बढीको उद्धार टोली बिहान ८:१० बजेदेखि पुनः खोजतलासमा जुटेको थियो ।
खोजी गर्ने क्रममा बुधबार बिहान अन्दाजी ९:५० बजे पोखरीको पानीमुनि डुबिरहेको अवस्थामा युवकको शव फेला परेको थियो । उद्धार टोलीले १०:१० बजे शवलाई पोखरीको डिलमा निकालेको थियो ।
शव फेला पर्दा सुरुमा पहिचान खुल्न नसके पनि दिउँसो अन्दाजी १:४० बजे मृतकका दाजु जहिर अहमदले घटनास्थलमा पुगेर शव आफ्नो भाइ मोहम्मद वजिरकै भएको भनी सनाखत गरेका छन् ।
शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको कमाण्डमा सोको सहितको विशेष अनुसन्धान टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरेको थियो । टोलीले घटनास्थल र लास जाँच मुचुल्का तयार पारी शवलाई पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पतालमा पठाएको छ ।
युवकले के कति कारणले पोखरीमा हाम फालेका हुन् र उनको मृत्युको वास्तविक कारण के हो भन्ने विषयमा पोस्टमार्टम रिपोर्ट आएपछि थप स्पष्ट हुने र घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले गम्भीरतापूर्वक थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाए