रौतहट, साउन २९ । रौतहटको वृन्दावन नगरपालिकामा एक नवविवाहित महिला आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
जिल्लाको वृन्दावन नगरपालिका–७ गढी टोल निवासी जोगी सहनीकी कान्छी श्रीमती २० वर्षीया पूजा सहनी शुक्रबार राति आफ्नै घरको माथिल्लो तलाको बरन्डामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। उनले काठको करोलामा सलको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीका अनुसार घटनाबारे जानकारी मृतकका श्रीमान् जोगी सहनीकी जेठी श्रीमती किरण सहनीले दिएकी थिइन्। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हर्षाहाबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थललाई सुरक्षित राख्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको माइती पक्ष सर्लाहीको बरहथवा नगरपालिका–१ हजरिया मलाहीटोल रहेको र उनीहरूलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार पूजा सहनीको विवाह करिब ६ महिनाअघि मात्रै भएको थियो। उनका सन्तान नभएको र घटनाका बेला उनका श्रीमान् घरमै रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ।