रौतहट, साउन २९ । रौतहटको परोहा नगरपालिकामा एक किशोरी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्। घटनाको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।
परोहा नगरपालिका–४ लौकाहा टोल निवासी रामप्रसाद रामकी १७ वर्षीया छोरी प्रियंका कुमारी राम बिहीबार राति करिब १०:४५ बजे आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट लौकाहाबाट प्रहरी सहायक निरीक्षक रामनरेश दासको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा अपराध अनुसन्धान तथा वैज्ञानिक प्रमाण सङ्कलन (SOCO) टोली समेत खटाएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रियंका आफ्नै सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा थिइन्। उनलाई झुण्डिएको देखेपछि उनकी बहिनीले पासो काटेर भुइँमा झारेको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। अस्पतालमा शुक्रबार दिउँसो शव परीक्षणका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।
अविवाहित रहेकी प्रियंकाको मृत्युको कारण हालसम्म खुल्न नसकेको र पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि मात्रै यथार्थ तथ्य बाहिर आउने प्रहरीले जनाएको छ। परिवारका सदस्य, आफन्त तथा छिमेकीसँग सोधपुछ भइरहेको र घटनाका सबै पक्षमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।