रौतहट, साउन २९ । रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्लेले सार्वजनिक रूपमा प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालको प्रशंसा गरे पनि मन्त्रालयमा भने उनको सरुवाको माग गर्दै पत्राचार गरेको तथ्य सार्वजनिक भएपछि नगरपालिकाभित्रको विवाद थप गहिरिएको छ। यस घटनाले नगर प्रमुखको सार्वजनिक अभिव्यक्ति र प्रशासनिक कदमबीच गम्भीर विरोधाभास देखिएको भन्दै नगरवासी, जनप्रतिनिधि र कर्मचारी वृत्तमा प्रश्न उठ्न थालेका छन्।

साउन २६ गते चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा उपप्रमुख जयमाला कुमारी चौधरीलाई समेत साथमा राखेर बोल्दै मेयर काफ्लेले प्रमुख प्रशासकीय अधिकृत ढकाल कानुन तथा प्रशासनिक विषयमा जानकार, कुशल र योग्य कर्मचारी भएको बताएका थिए। उनले ढकालसँग आफ्नो सम्बन्ध राम्रो रहेको र प्रमुख प्रशासकीय अधिकृत तथा नगर प्रमुखबीच कुनै प्रकारको समस्या नरहेको दाबी गरेका थिए।
तर त्यसको नौ दिनअघि अर्थात् साउन १७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै पठाइएको पत्रमा भने मेयर काफ्लेले प्रमुख प्रशासकीय अधिकृत ढकाल जनप्रतिनिधि तथा कर्मचारीसँग समन्वय गर्न असफल भएको, कार्यसम्पादन सन्तोषजनक नरहेको तथा उनीविरुद्ध व्यापक जनगुनासो रहेको आरोप लगाउँदै तत्काल सरुवा गरिदिन अनुरोध गरेको खुलासा भएको छ। पत्रमा ढकालको स्थानमा कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीलाई चन्द्रपुर पठाइदिन समेत आग्रह गरिएको छ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीहरूले ढकालको कार्यशैलीको प्रशंसा गरिरहेका बेला मेयर स्वयंले मन्त्रालयमा उनको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै सरुवाको माग गर्नु र त्यसको केही दिनपछि पत्रकार सम्मेलनमा उल्टो धारणा व्यक्त गर्नुले उनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ। स्थानीय तहको नेतृत्वमा रहेको व्यक्तिले सार्वजनिक र प्रशासनिक तहमा फरक–फरक सन्देश दिनु नगरवासीलाई भ्रममा पार्ने प्रयास भएको टिप्पणी हुन थालेको छ।
नगरपालिकाभित्रको स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत ढकाल आएपछि इन्धन, विविध खर्च तथा अन्य शीर्षकमा हुने खर्चमाथि कडाइ गरिएको थियो। यसअघि नगरपालिकाको स्रोत–साधनको दुरुपयोग हुँदै आएको आरोप लाग्दै आएको अवस्थामा ढकालले खर्च नियन्त्रणको नीति अवलम्बन गरेपछि मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच सम्बन्ध चिसिएको बताइन्छ।
यही क्रममा मेयर काफ्लेले वडा नं. १ का वडाध्यक्ष बलराम राउत र कार्यपालिका सदस्य कल्याण कुश्वारलगायतका व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीविरुद्ध परिचालन गरेको आरोप समेत लागिरहेको छ। नगरपालिकाका केही वडाध्यक्षहरूका अनुसार बलराम राउत र कल्याण कुश्वारले विभिन्न बहानामा प्रमुख प्रशासकीय अधिकृत ढकाल, जिन्सी शाखा प्रमुख मिश्रीलाल साह, लेखा शाखा प्रमुख अर्पणा देवकोटा, प्रशासन शाखा प्रमुख उमा गैरापिप्ली तथा कर्मचारी अजिता पौडेललगायतलाई कार्यालयमै पुगेर चर्को स्वरमा गालीगलौज गर्ने, तथ्यहीन आरोप लगाउने तथा कार्यालयको कार्य वातावरण विगार्ने गतिविधि गर्दै आएका छन्। ती गतिविधि मेयरको प्रत्यक्ष वा अप्रत्यक्ष संरक्षणमा भइरहेको आरोप समेत लगाइएको छ।
यता नगरपालिकाभित्रको बिग्रँदो वातावरण सुधार्न उपप्रमुख जयमाला कुमारी चौधरी, वडा नं. ९ का अध्यक्ष नवराज देवकोटा, वडा नं. ३ का अध्यक्ष बोधनाथ देवकोटा, वडा नं. ४ का अध्यक्ष रवि रानामगर तथा कार्यपालिका सदस्य नेत्र कुश्वारलगायतका जनप्रतिनिधिहरूले पहल गरेका थिए। तर मेयर काफ्लेले उनीहरूको पहललाई महत्व नदिएको र विवाद समाधानतर्फ सकारात्मक भूमिका नखेलेको आरोप छ।
नगर स्रोतका अनुसार मेयर काफ्लेले प्रमुख प्रशासकीय अधिकृत ढकालको सरुवा, जिन्सी शाखा प्रमुख मिश्रीलाल साहको जिम्मेवारी खोस्ने तथा प्रशासन शाखामा कार्यरत कर्मचारीलाई वडा सचिवका रूपमा सरुवा गरेपछि मात्र आफ्नो उद्देश्य पूरा हुने धारणा बनाएको बताइन्छ। यसले प्रशासनिक स्थायित्व र कार्यालय सञ्चालनमै असर पुर्याएको कर्मचारीहरूको भनाइ छ।
नगरपालिकाको खाता सञ्चालनसम्बन्धी विवाद पनि चर्किँदै गएको छ। प्रमुख प्रशासकीय अधिकृतको सरुवा नभएसम्म खाता सञ्चालन हुन नदिने मनसायका साथ नगरसभाको निर्णय पुस्तिका आफ्नो नियन्त्रणमा राखेको तथा प्रमुख प्रशासकीय अधिकृतलाई खाता सञ्चालनको अख्तियारी नदिएको आरोप मेयर काफ्लेमाथि लाग्दै आएको छ। यसका कारण विपद् व्यवस्थापन, अत्यावश्यक खरिद तथा नियमित प्रशासनिक सेवा प्रभावित हुन थालेको बताइएको छ।
लम्पी स्किन रोगविरुद्धको खोप खरिद प्रक्रिया समेत प्रभावित भएको स्रोतहरूको दाबी छ। खोप खरिद हुन नसक्दा किसानका पशुचौपायामा रोगको जोखिम बढेको र कतिपय स्थानमा पशु मर्न थालेको स्थानीयको भनाइ छ। कर्मचारी तथा शिक्षकको तलब भुक्तानीमा समेत समस्या उत्पन्न हुने अवस्था देखिएको छ भने अत्यावश्यक खरिद प्रक्रिया अवरुद्ध हुँदा समग्र नगरपालिकाको सेवा प्रवाह प्रभावित हुने जोखिम बढेको बताइएको छ।
यसबीच एक कार्यपालिका सदस्यले नाम नखुलाउने सर्तमा मेयर काफ्लेमाथि थप गम्भीर आरोप लगाएका छन्। उनका अनुसार, “पहिले इन्धनको व्यापक दुरुपयोग हुने, होटलमा लाखौँ रुपैयाँका बिल भुक्तानी गरिने र नगरपालिकाको स्रोत–साधन निजी तथा घरायसी प्रयोजनमा प्रयोग हुने गरेको थियो। हालका प्रमुख प्रशासकीय अधिकृतले यस्ता गतिविधिमा नियन्त्रण गर्न थालेपछि मेयर असन्तुष्ट हुनुभएको हो।”
ती सदस्यले नगरपालिकाबाट तलब खाने गरी मेयरको निवासमा कामदार राखिएको विषयसमेत बाहिर आएको दाबी गरे। साथै, मेयर काफ्लेले २०७९ सालमा लिएको पेश्की हालसम्म फर्छ्योट नगरेको आरोप पनि उनीमाथि लाग्दै आएको बताएका छन्।
यी आरोपबारे प्रतिक्रिया लिन खोज्दा मेयर काफ्लेसँग सम्पर्क हुन नसकेको जनाइएको छ।
स्थानीय तहमा सुशासन कायम गर्ने, जनप्रतिनिधि र कर्मचारीबीच समन्वय बढाउने तथा विकास निर्माणलाई गति दिने जिम्मेवारी नगर प्रमुखको भए पनि चन्द्रपुर नगरपालिकामा नेतृत्व र प्रशासनबीचको बढ्दो टकरावले सेवा प्रवाह, विकास निर्माण र प्रशासनिक कार्यसम्पादनमै असर पुर्याउन थालेको देखिन्छ। सार्वजनिक रूपमा प्रमुख प्रशासकीय अधिकृतको प्रशंसा गर्ने तर मन्त्रालयमा सरुवाको माग गर्दै पत्राचार गर्ने कार्यले मेयर काफ्लेको भूमिकामाथि थप प्रश्न उठाएको छ भने नगरपालिकाभित्रको शक्ति संघर्षले अन्ततः नगरवासी नै मारमा पर्ने चिन्ता बढेको छ।
