साउन २९ गते ।
रौतहटको वृन्दावन नगरपालिकाले नगर क्षेत्रभित्र रहेका दुई वटा पोखरी तथा बागमती नदी घाटको माछा संकलन र कर संकलनसम्बन्धी ठेक्का प्रक्रिया सम्पन्न गरेको छ। नगरपालिकाको कार्यालयमा निर्धारित नियम, कानुन तथा बोलकबोल प्रक्रियाअनुसार ठेक्का आह्वान गरी प्राप्त भएका फारम खोल्दै सार्वजनिक रूपमा ठेक्का प्रक्रिया सम्पन्न गरिएको हो। वृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीको रोहवरमा सम्पन्न भएको ठेक्का प्रक्रियामा सम्बन्धित ठेकेदार, जनप्रतिनिधि, कर्मचारी, प्रहरी तथा सञ्चारकर्मीको उपस्थितिमा बोलपत्र तथा बोलकबोलसम्बन्धी प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ।
दुई पोखरीको ठेक्का ३३ लाख ५ सय रुपैयाँमा
नगरपालिकाको वडा नं. १ स्थित रमौली जाने सडकको उत्तरपट्टि रहेका दुई वटा पोखरीबाट पाँच वर्षसम्म माछा निकाल्ने तथा बिक्री–वितरण गर्ने अधिकारका लागि ठेक्का प्रक्रिया सम्पन्न भएको छ। उक्त ठेक्का वृन्दावन नगरपालिका–२ निवासी राम सागर साहले ३३ लाख ५ सय रुपैयाँमा सकार गरेका छन्। नगरपालिकाले बोलकबोलका लागि तोकेको प्रक्रियाअनुसार सहभागी भएका बोलपत्रदातामध्ये साहले सबैभन्दा बढी रकम कबोल गरेपछि ठेक्का प्राप्त गरेका हुन्।
दुई वटा पोखरीको ठेक्का सकार गर्न श्री लक्ष्मी माछा सप्लायर्स, वृन्दावन नगरपालिका–१, दिनेश कुमार सहनी, वृन्दावन–१, नगेन्द्र सहनी, वृन्दावन–१ तथा राम सागर साह, वृन्दावन–२ गरी चार जनाले फारम खरिद गरी आवेदन दर्ता गराएका थिए।
निर्धारित समयभित्र दर्ता भएका बोलपत्र तथा बोलकबोल प्रक्रिया पूरा गरेपछि राम सागर साहले प्रस्तुत गरेको रकमलाई स्वीकार गर्दै ठेक्का प्रदान गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार ठेक्का पाँच वर्षका लागि प्रदान गरिएको हो। ठेक्का अवधिभर ठेकेदारले पोखरीबाट माछा संकलन तथा बिक्री–वितरण गर्दा नगरपालिकाले निर्धारण गरेका नियम, शर्त तथा प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्नेछ।
बागमती नदी घाटको ठेक्का पनि सम्पन्न
यसैगरी वृन्दावन नगरपालिका क्षेत्रमा पर्ने बागमती नदी घाटबाट माछा संकलन तथा कर संकलन गर्ने ठेक्का प्रक्रिया पनि सम्पन्न भएको छ।नगरपालिकाले उक्त ठेक्काको न्यूनतम कबोल अंक वार्षिक २ लाख २५ हजार रुपैयाँ निर्धारण गरेको थियो। निर्धारित प्रक्रियाअनुसार वृन्दावन नगरपालिका–१ निवासी रामदेव सहनीले २ लाख २५ हजार १ सय रुपैयाँ कबोल गरेका छन्।उक्त ठेक्काका लागि वृन्दावन नगरपालिका–१ का रामबाबु सहनी, रामदेव सहनी, अच्छेलाल सहनी तथा वृन्दावन नगरपालिका–६ का गणेश राउत गरी चार जनाले फारम खरिद गरेका थिए। तर तोकिएको समयभित्र रामदेव सहनीको मात्र बोलपत्र दर्ता भएपछि उनको कबोललाई आधार मानी ठेक्का प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले फारम खरिद गर्ने अन्तिम मिति २०८३ साल साउन २८ गते र बोलपत्र दर्ता गर्ने अन्तिम समय साउन २९ गते दिउँसो १२ बजेसम्म तोकेको थियो। सोही समयसीमाभित्र प्राप्त भएको बोलपत्रका आधारमा प्रक्रिया पूरा गरिएको हो। नगरपालिकाका अनुसार ठेक्का रकममा मूल्य अभिवृद्धि कर ९मू।अ।कर० तथा अन्य आयकर समावेश नभएको उल्लेख गरिएको छ। ठेकेदारले प्रचलित कानुन तथा नगरपालिकाले तोकेका सबै कर, शुल्क र अन्य दायित्व पूरा गर्नुपर्नेछ।
पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइएको दाबी
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर साहले ठेक्का प्रक्रिया निर्धारित नियम र कानुनअनुसार पारदर्शी तथा प्रतिस्पर्धात्मक रूपमा सम्पन्न गरिएको जानकारी दिए। उनका अनुसार नगरपालिकाको आन्तरिक आयस्रोतलाई व्यवस्थित तथा सुदृढ बनाउने उद्देश्यले पोखरी र नदी घाटको ठेक्का प्रक्रिया अघि बढाइएको हो।नगर प्रमुख बिनोद प्रसाद कुर्मीको रोहवरमा सम्पन्न प्रक्रियामा प्राप्त भएका फारम तथा बोलकबोल रकम सार्वजनिक रूपमा खोलिएको थियो। यसले ठेक्का प्रक्रियामा पारदर्शिता कायम गर्न सहयोग पुगेको नगरपालिकाको भनाइ छ।नगर प्रमुख कुर्मीले नगरपालिकाको सम्पत्ति तथा प्राकृतिक स्रोतको उचित उपयोगसँगै नगरपालिकाको राजस्व वृद्धि गर्ने उद्देश्यले ठेक्का प्रक्रिया अगाडि बढाइएको बताए। उनले सार्वजनिक सम्पत्तिको उपयोग गर्दा नगरपालिकाले तोकेका नियम तथा वातावरणीय मापदण्डको पालना गर्न ठेकेदारहरूलाई आग्रह गरे।
राजस्व वृद्धि र स्थानीय रोजगारीको अपेक्षा
नगरपालिकाका पोखरी तथा बागमती नदी घाटको ठेक्का सम्पन्न भएसँगै स्थानीय तहको आन्तरिक आम्दानीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। पोखरी तथा नदीमा माछा संकलन, व्यवस्थापन, बिक्री–वितरण तथा ढुवानीलगायतका काममा स्थानीय श्रमिक तथा व्यवसायीले रोजगारीको अवसर पाउने नगरपालिकाको विश्वास छ।स्थानीय स्रोतसाधनको व्यवस्थित व्यवस्थापन र ठेक्का प्रक्रियाबाट प्राप्त हुने राजस्वलाई नगरपालिकाले विकास निर्माण तथा जनहितका कार्यक्रममा परिचालन गर्न सक्ने भएकाले यस्ता प्राकृतिक स्रोतको पारदर्शी व्यवस्थापन महत्वपूर्ण हुने सरोकारवालाहरूको भनाइ छ।
नगरपालिकाले ठेक्का प्राप्त गर्ने पक्षलाई पोखरी तथा नदीको प्राकृतिक वातावरणमा असर नपर्ने गरी माछा संकलन गर्न, नगरपालिकाले तोकेका शर्त पालना गर्न तथा सरकारी नियमअनुसार माछाजन्य वस्तुको कारोबार गर्न निर्देशन दिएको जनाएको छ।
ठेक्का प्रक्रिया सम्पन्न गर्ने क्रममा वृन्दावन नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, प्रशासन शाखा प्रमुख हरि प्रसाद दुलाल, कृषि तथा पशु शाखा प्रमुख ओमप्रकाश मुल, सूचना प्रविधि शाखा प्रमुख लालबहादुर चौधरी, राजस्व शाखा प्रमुख पुरुषोत्तम पटेल, हर्षाहा प्रहरी चौकीका इन्चार्ज, सञ्चारकर्मी तथा सम्बन्धित ठेकेदारहरूको सहभागिता रहेको थियो।नगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक स्रोत तथा सम्पत्तिको ठेक्का प्रक्रिया प्रचलित कानुन, पारदर्शिता र प्रतिस्पर्धाका आधारमा सञ्चालन गर्ने जनाएको छ।