रौतहट — कटहरिया नगरपालिकाका पूर्वमेयर सियाराम कुशवाहाले आरोप–प्रत्यारोप र गालीगलौजको राजनीतिभन्दा विचार, तर्क र विकासको राजनीतिमा केन्द्रित हुनुपर्ने बताएका छन्।
छठ पर्वको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कुशवाहाले राजनीति अरूलाई दोषारोपण गर्ने माध्यम नभई विचार, दृष्टिकोण र जनताको सेवामार्फत आफ्नो क्षमता प्रमाणित गर्ने माध्यम भएको बताएका हुन्।
आफ्नो पाँचवर्षे कार्यकाल स्मरण गर्दै उनले अरूमाथि दोष थोपर्ने, आरोप लगाउने तथा नातावाद र कृपावादको राजनीतिभन्दा माथि उठेर विकास र समृद्धिलाई प्रमुख एजेन्डा बनाएको दाबी गरेका छन्। आफ्नो प्रतिबद्धता आज पनि उस्तै रहेको र आगामी दिनमा पनि कायम रहने उनको भनाइ छ।
‘कटहरिया नगरपालिकाको विकास, जनताको समृद्धि र नगरको उज्ज्वल भविष्यका लागि कुनै पनि स्वार्थसँग सम्झौता गर्ने छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
राजनीति पद र प्रतिष्ठा प्राप्त गर्ने माध्यम नभई जनताको विश्वास जित्ने र नगरमा परिवर्तन ल्याउने माध्यम भएको उल्लेख गर्दै उनले जनताको निर्णयलाई सधैँ सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले राजनीतिक प्रतिस्पर्धामा आरोप–प्रत्यारोपलाई प्राथमिकता दिनुभन्दा विचार, विकास र जनताको आवश्यकताका विषयमा बहस हुनुपर्नेमा जोड दिएका छन्। नगरको विकासका लागि विभाजनभन्दा एकता र स्वार्थभन्दा समृद्धिको बाटो रोज्नुपर्ने उनको आग्रह छ।
‘आउनुहोस्, आरोप–प्रत्यारोप होइन, विचार र विकासको राजनीति गरौँ। विभाजन होइन, एकता र समृद्धिको बाटो रोजौँ,’ उनले फेसबुकमा लेखेका छन्।
छठ पर्वको अवसर पारेर सार्वजनिक गरेको सन्देशमा कुशवाहाले नगरवासीको सुख, शान्ति र समृद्धिको कामना गर्दै छठी मैयाँले सबैको कल्याण गरून् भन्ने शुभेच्छासमेत व्यक्त गरेका छन्।
पूर्वमेयर कुशवाहाको यो अभिव्यक्तिलाई कटहरियाको स्थानीय राजनीतिक परिवेशमा विकास, सुशासन र राजनीतिक संस्कारको बहससँग जोडेर हेरिएको छ।