रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्वमा सहभागी हुन शनिबार परिवारसहित जनकपुरधाम आउने भएका छन् ।
पत्नी निकिता पौडेलसहित उनी तीन दिने धार्मिक भ्रमणका लागि जनकपुरधाम आउन लागेका हुन् । रास्वपाका सचिवालय सदस्य तथा जनकपुरधाम–३ बाट निर्वाचित सांसद मनिष झाका अनुसार लामिछाने दम्पतीले जनकपुरधामस्थित गंगासागरमा विशेष पूजा गर्ने कार्यक्रम छ ।
तीन दिनको बसाइका क्रममा रवि दम्पती कुनै होटल वा पार्टीका नेताको घरमा नभई एक सर्वसाधारणको घरमा बस्ने तयारी गरिएको झाले जानकारी दिएका छन् ।
उनका अनुसार सभापति लामिछानेले आफू बस्ने घरका व्यक्ति पार्टीसँग आबद्ध नभएको हुनुपर्ने आग्रह गरेका छन् । घरधनी पार्टीको साधारण सदस्य वा पार्टी सदस्यका आफन्तसमेत नहुनुपर्ने उनको चाहना रहेको झाको भनाइ छ ।
निकिता पौडेलले छठ पर्वको खरना विधिदेखि कात्तिक ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत सम्पन्न गर्ने बेलासम्म सहभागी हुने इच्छा व्यक्त गरेकी छन् । सोहीअनुसार भ्रमणको तयारी भइरहेको झाले बताएका छन् ।
यस भ्रमणका क्रममा औपचारिक राजनीतिक कार्यक्रम भने नरहेको जनाइएको छ। जनकपुरधाममा छठ पर्वका लागि सजाइएका विभिन्न पोखरीमा पुग्ने, पूजा अवलोकन गर्ने र सर्वसाधारणसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
विगतमा राजनीतिक भ्रमणका क्रममा हुने गरेको भीडभाडलाई मध्यनजर गर्दै यसपटक सकेसम्म भीड कम हुने समयमा विभिन्न छठघाट पुग्ने तयारी गरिएको झाको भनाइ छ ।
यसैबीच, छठ पर्वमा रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह पनि जनकपुरधाम आउने विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको झाले बताएका छन्। प्रधानमन्त्रीको भ्रमणबारे अनौपचारिक जानकारी भए पनि सरकारी तहबाट आधिकारिक जानकारी प्राप्त नभएको उनको भनाइ छ।
पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच मतभेद रहेको चर्चा भइरहेका बेला लामिछानेको पारिवारिक धार्मिक भ्रमणलाई राजनीतिक वृत्तमा समेत चासोका साथ हेरिएको छ।