बारा। बाराको महागढीमाईमा मोटरसाइकलको ठक्करबाट बालिका घाइते भएको विषयलाई लिएर भएको विवादमा एक युवकमाथि चक्कु प्रहार भएको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका युवकको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ भने घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित सडकमा बिहीबार बिहान अन्दाजी १० बजे १५ वर्षीय बालकले चलाएको मोटरसाइकलले स्थानीय २ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट बालिका घाइते भएपछि दुई पक्षबिच विवाद सुरु भएको थियो।
सोही विषयलाई लिएर विवाद बढ्दै जाँदा स्थानीय ३७ वर्षीय भिम साह लहेरा र मोटरसाइकल चालक बालक मिलेर स्थानीय १९ वर्षीय सुरज साह लहेरामाथि चक्कु प्रहार गरेका हुन्। आक्रमणबाट सुरजको शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको छ। घाइते सुरजलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्यापइएको थियो।
घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न ३७ वर्षीय भिम साह लहेरा र १५ वर्षीय मोटरसाइकल चालक दुवैलाई घटनास्थलबाट नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले ‘घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको’ बताएका छन्।