चन्द्रपुर —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय संगठन विभागका पूर्व सदस्य तथा चन्द्रपुरका संस्थापक सभापति उदयनारायण सापकोटा ‘सुरेन्द्र’ले आगामी स्थानीय तह निर्वाचनमा चन्द्रपुर नगरपालिकाको नगर प्रमुख पदका लागि उम्मेदवारीको दाबेदारी प्रस्तुत गरेका छन्।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघका वर्तमान अध्यक्षसमेत रहेका सापकोटाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीले अघि सारेको ‘उम्मेदवार क्लब’मा नगर प्रमुख पदका लागि आवेदन दर्ता गराएको सार्वजनिक गरेका हुन्।
रास्वपाले उम्मेदवार छनोटका लागि तय गरेको विधि, मापदण्ड, योग्यता, मूल्याङ्कन तथा लोकतान्त्रिक प्रक्रियामा सहभागी हुँदै आफूलाई परीक्षण गराउन आवेदन दिएको उनले उल्लेख गरेका छन्। उनले आफ्नो राजनीतिक यात्रामा सत्कर्म, इमानदारी र जनविश्वासलाई सबैभन्दा ठूलो शक्ति मानेको बताएका छन्।
जनताको आशा र विश्वासलाई आत्मसात् गर्दै सुशासन, न्याय र समृद्धिको सपना साकार पार्ने यात्रामा समर्पित रहने प्रतिबद्धतासहित उम्मेदवार क्लबमा नाम दर्ता गराएको सापकोटाको भनाइ छ।
उनले सामाजिक सञ्जालमार्फत चन्द्रपुरवासी तथा शुभेच्छुकसँग सल्लाह, सुझाव, माया, स्नेह, साथ र समर्थनका लागि आग्रहसमेत गरेका छन्।
रास्वपाको संगठन निर्माणमा चन्द्रपुरबाटै सक्रिय भूमिका निर्वाह गरेका सापकोटाको नगर प्रमुख पदप्रतिको दाबेदारीसँगै चन्द्रपुरमा पार्टीभित्रको उम्मेदवार छनोट प्रक्रिया र आगामी स्थानीय निर्वाचनको राजनीतिक गतिविधि चासोको विषय बन्ने देखिएको छ।