रौतहट — गढीमाई नगरपालिकाको आगामी नगर प्रमुख (मेयर) पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति सचितानन्द साहनी (सचिन) ले उम्मेदवारीका लागि आवेदन दर्ता गराएका छन्।
साहनीले पार्टीको ‘क्यान्डिडेट क्लब’मा मेयर पदको उम्मेदवार बन्न आधिकारिक रूपमा आवेदन दिएका हुन्। युवा नेतृत्व, नयाँ सोच, सुशासन, पारदर्शिता र विकासलाई मुख्य प्राथमिकतामा राख्दै उनले समृद्ध गढीमाई निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय तहमा देखिएका बेथिति, अनियमितता र पुराना राजनीतिक प्रवृत्तिको अन्त्य गर्दै जनताप्रति जवाफदेही शासन व्यवस्था स्थापित गर्नु आफ्नो प्रमुख उद्देश्य रहेको साहनीको भनाइ छ। उनले नगरपालिकालाई भ्रष्टाचारमुक्त, पारदर्शी र विकासमुखी बनाउने एजेन्डासहित आफू अघि बढेको बताएका छन्।
‘युवा नेतृत्व, नयाँ सोच र समृद्ध गढीमाई हाम्रो संकल्प’ भन्ने नाराका साथ चुनावी तयारीमा जुटेका साहनीले स्थानीय विकास, जनताको आवश्यकता र सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
उनको उम्मेदवारीका लागि गरिएको आवेदनसँगै गढीमाई नगरपालिकामा रास्वपाको चुनावी गतिविधि पनि चर्चामा आएको छ।