चन्द्रपुर, १३ श्रावण / चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनको सरगर्मीले चन्द्रपुरको बजार तातिरहेको छ । यहीं श्रावण १७ गते हुन गइरहेको संघको साधारण सभाले आगामी ३ वर्षको लागि नयाँ नेतृत्व चयन गर्दैछ । संघको नेतृत्व लिन अहिले विभिन्न व्यक्तिहरुले आफ्नो तयारी गरिरहनुभएको छ । यसैबीच संघका पूर्व महासचिव सुनिल साहले पनि अध्यक्ष पदको लागि आफ्नो दावेदारी प्रस्तुत गरिरहनुभएको छ । आफुले संघमा विभिन्न पदमा रहदाँ सदैव व्यवसायिहरुको हकहितको लागि मात्र काम गरेको स्मरण गर्दै अब चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्ष बनेर संघलाई सबै खाले व्यवसायीहरुको छाता संस्था बनाउने लक्ष्य लिएको उहाँको भनाइ छ । उहाँले चन्द्रपुर नगर उद्योग बाणिज्य संघ व्यवसायीहरुको साझा अभिभावक संस्था भएपनि आजसम्म व्यवसायीहरुले यसलाई अभिभावक मान्न नसकेको उल्लेख गर्दै आफु अध्यक्षमा निर्वाचित भएपछि यसलाई व्यवसायीहरुले महसुष गर्नेगरी अभिभावक संस्था बनाउने दावी गर्नुभयो । ‘अहिले नविकरण र नयाँ सदस्यतको विस्तारको क्रममा धेरै व्यवसायीहरुले संघको सदस्य बनेर के हुन्छ ? हामीलाई अप्ठ्यारो परेको बेला कतै देखा पर्दैन भनेर गुनासो गर्नुभयो’ साहको भनाई छ, ‘यसपटक व्यवसायीहरुको सहयोगले म अध्यक्ष भएभने व्यवसायीहरुको हरेका गाह्रो, साह्रो, अप्ठ्यारोमा संघ अभिभावक बनेर उभिनेछ । संघको सदस्य किन बन्ने होइन , बन्नैपर्ने रहेछ भन्ने बनाउने छुँ ।’ उहाँले व्यवसायीहरुको सहजताको लागि आफु कार्यसमितीका हुँदा करदाता सेवा कार्यालय चन्द्रनिगाहपुरमा स्थापना गर्न पहल गरेको स्मरण गर्दै आफु संघको नेतृत्वमा आए व्यवसायीहरुलाई कर सम्बन्धी विभिन्न समस्याहरुमा संघले सहजीकरण गर्ने , तालिम प्रदान गर्ने, प्राविधिक तथा दक्ष जनशक्तिबाट जुनसुकै बेला पनि सहयोग उपलब्ध हुने वातावारण निमार्ण गर्ने बताउनुभयो । ‘ मेरो नेतृत्वमा व्यवसायीहरुको हकहितको लागि विभिन्न नितिगत निर्णयहरु गरेर संघ अगाडि बढ्नेछ’ उहाँको दावी छ, ‘पछिल्लो समय नेतृत्वले देखिने गरी व्यवसायीहरुको हकहितको संरक्षण, प्रवद्धनका लागि काम गरेको देखिएन । हाम्रो संस्था जुन प्रकृतिको छ त्यो अनुरुप सेवा दिन सकिरहेको छैन् । म यसलाई विशुद्ध व्यवसायीहरुको संस्था बनाउने छुँ ।’ उहाँले आफु नेतृत्वमा आउनका लागि सम्पूर्ण व्यवसायीहरुको सहयोग हुनेमा आशावादी रहेको बताउँदै व्यवसायीहरुको पिडा र समस्यालाई सरोकारवालासँग लगेर समाधान गर्न संघले भूमिका खेल्दै सबैलाई सम्मानपूर्ण व्यवसाय गर्न पाउने वातावरण निमार्ण गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।