चन्द्रपुर, २३ श्रावण/ चन्द्रपुर नगर उद्योग वाणिज्य संघ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दोहोरो चरित्र देखाएको भन्दै आलोचना भइरहेको छ। श्रवण २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका चन्द्रपुर नगर सभापति समेत रहेका उदयनारायण सापकोटा सुनिल साहलाई हराउँदै संघको अध्यक्षमा विजयी भएका थिए। चुनाव अघि सापकोटाले आफू कुनै पार्टीको नभई सिङ्गो व्यापारीको उम्मेदवार भएको बताउँदै भोट मागेका थिए। उनले आफू व्यापारीहरूको हकहितको लागि लाग्ने व्यवसायी भएर चुनावी मैदानमा उत्रिएको र पार्टीभन्दा माथि संघलाई राखेर मत दिन व्यवसायीहरुलाई अनुरोध गरेका थिए। उनले संघको निर्वाचन दलको होइन व्यवसायीहरूको हुने भएकाले यहाँ यो पार्टी त्यो पार्टी नहुने भन्दै नभई आफू पार्टीको नेता नभएर विसुद्ध व्यवसायीको नेताको रुपमा मत माग्न आएको भन्दै प्रचारप्रसार गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले पनि आफूहरूको उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीको नभई सबै पार्टीको साझा उम्मेदवार भएको दाबी गर्दै मत मागेका थिए। आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीकोको नेता भनेर चिनाउने जनकराज भारतीले फेसबुकमा लेख्दै उदय नारायण सापकोटा कुनै पार्टीको उम्मेदवार नभएको जिकिर गरेका थिए। उनले लेखेका थिए, 'अध्यक्षमा उदय नारायण सापकोटा (सुरेन) कुनै पार्टीको तर्फबाट उम्मेदवार होइन उहाँ सबै राजनितिक दल र सबै व्यावसायिहरुको साझा उम्मेदवार भएको हुनाले उहाँको पुरानो नयाँ मिलेर बनेको आकर्षक टिम सम्पुर्णलाई अत्यधिक मतले विजय गराउन हुन सबै व्यवसायीहरुसँग हार्दिक अनुरोध गर्दछु! यो टिम बोल्ने मात्र होइन काम गर्ने टिम हो | बाँकी तपाईहरुको हातमा , साथमा म पनि छुँ ।'
यसरी आफूलाई पार्टी नेता नभएर स्वतन्त्र व्यवसायीको रुपमा प्रचार गरेर चुनाव जितेका सापकोटाले चुनाव जित्ने बित्तिकै चारदलीय गठबन्धनलाई हराएर राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जितेको भन्दै मिडिया ट्रायल गर्न सुरु गरेका थिए। सबै पार्टीमा आस्था राख्ने व्यवसायीहरूले विशुद्ध व्यवसायी हकितको लागि पार्टीभन्दा माथि उठेर मत दिएर जिताएका सापकोटाले ती व्यवसायीहरूको मतको अपमान गर्दै आफ्नो जितलाई व्यवसायीको जितको रुपमा नभएर राष्ट्रिय स्वतन्त्र पार्टीको जितको रूपमा देशैभर प्रचार गर्न लगाएका छन्। राष्ट्रिय दैनिक नयाँ पत्रिकाको आफ्नो जितबारे प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘मैले राम्रो काम गरेकाले साथीहरूले विजयी गराउनुभयो । पाँच दल एक ठाउँमा उभिँदा पनि जित्न सफल भए । पार्टी (रास्वपा)को प्रभावका कारणले पनि हो ।’
गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षको टिकट नपाएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका उनले यो जितलाई आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको नेताको रुपमा स्थापित गराउन दुरुपयोग गरिरहेका छन्। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरू विभिन्न मिडियामा आएका समाचारहरू सेयर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले महागठबन्धनलाई पराजित गर्दै जितेको भन्दै उत्सव मनाइरहेका छन्।
भोट माग्ने क्रममा सापकोटा कुनै पार्टीको उम्मेदवार नभएको भन्ने सो पार्टीका नेता जनकराज भारती स्वयं पनि चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा रास्वपाले गठबन्धनका उम्मेदवारलाई हराएको समाचार लाजै पचाएर सेयर गर्दै बसेका छन्। सापकोटा र उनका समर्थकहरूले व्यवसायी व्यक्तिको जितलाई पार्टीको जितको रुपमा मिडिया ट्रायल गर्न थालेपछि उनलाई भोट दिने अन्य पार्टीमा आस्था राख्ने व्यवसायीहरू भने पछुताउन थालेका छन्। 'हामीसँग भोट माग्दा आफू कुनै पार्टीको उम्मेदवार नभएर स्वतन्त्र व्यवसायी भएको भन्दै भोट माग्ने अनि जितेपछि एउटा पार्टीको नेताको जितको रुपमा मिडिया ट्रायल गर्ने सापकोटाको दोहोरो चरित्र सबै सामु छर्लङ्ग भएको छ' नेकपा एमाले निकट एक व्यवसायीले गुनासो गरे, 'हामीले त व्यवसायी उदय नारायण सापकोटालाई जिताएका थियौँ। तर जित्ने त राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उदयनारायण सापकोटाको पो रहेछन् ।' उनले आफुहरुले पार्टी र राजनीतिभन्दा माथि उठेर व्यक्तिलाई जिताएको तर सापकोटाले यसमै राजनीति खेलेकोमा दुःख व्यक्त गरे । सापकोटालाई चुनाव जिताउन नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, समाजवादीका शुभचिन्तकहरू मात्र नभएर नेताहरू पनि खुलेर लागेका थिए। व्यवसायीहरूको निर्वाचनलाई केवल व्यवसायीहरूको रूपमा मात्रै हेरेर उनीहरूले आफ्नो पार्टीको आधिकारिक उम्मेदवारलाई साथ नदिएर सापकोटालाई चुनाव जिताउन पार्टी निर्णय विरुद्ध लागेका थिए। तर व्यवसायीहरूको विश्वासलाई लात हान्दै सापकोटा भने राष्ट्रिय स्वतन्त्र पार्टीको जितको रुपमा उत्सव मनाउँदै हिँड्नुले सापकोटा विश्वासयोग्य नभएको देखाएको नेपाली कांग्रेस निकट एक व्यवसायी गुनासो गर्छन् । 'हामीले निर्वाचनमा पार्टी हेरेनौं, व्यक्ति हेर्यौ' उनले भने, 'उनले पनि आफू पार्टीको रुपमा कतै पनि प्रचार नगर्ने भन्दै हामीलाई प्रतिबद्धता जनाएका थिए। तर जितेपछि उनले यसलाई केवल राष्ट्रिय स्वतन्त्र पार्टीको जितको रुपमा मिडिया ट्रायल गर्न थाले। यो दुःखद हो । व्यवसायीहरूको मतको अपमान हो।'
सापकोटालाई जिताउन विभिन्न पार्टीबाट सर्वसम्मत निर्वाचित भएका सदस्यहरू पनि अधिकांश खुलेरै लागेका थिए। एउटा पार्टीको प्रतिनिधि बनेर सदस्य बन्ने तर अर्को पार्टीको उम्मेदवारलाई जिताउन लाग्ने भन्दै उनीहरूको पार्टीभित्र तीव्र आलोचना भइरहेको छ । उनीहरुलाई तत्काल फिर्ता बोलाउन ती पार्टीका कार्यकर्ताहरूले पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन्। पदको लागि पार्टी भन्ने तर पार्टी हित र निर्णय विरुद्ध कामहरू गर्नेलाई पार्टीले तत्काल कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने काम कार्यकर्ताहरूको भनाइ छ।