काठमाडौं,१६ बैशाख//
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विशेष बुलेटिन जारी गरेको छ।
महाशाखाले आज अपराह्नदेखि भोलि बिहानसम्म आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा हावाहुरीको प्रभाव पर्ने सम्भावना छ। विशेषगरी कञ्चनपुर, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी, नवलपुर, चितवन, बारा, पर्सा, धनुषा, झापा र मोरङ जिल्लामा सतर्कता अपनाउन भनिएको छ।
बुलेटिनअनुसार हावाहुरी आज अपराह्न ४:०० बजेदेखि सुरु भई भोलि बिहान ६:४५ बजेसम्म कायम रहने सम्भावना रहेको छ।
मौसमविद्हरूका अनुसार मेघगर्जन, चट्याङ्ग र असिनासहित वर्षा गराउने प्रणाली हाल देशको पश्चिमबाट पूर्वतर्फ सर्दै गएको छ, जसको प्रभाव देशका अधिकांश क्षेत्रमा पर्ने देखिएको छ।
