सिरहा,१६बैशाख //
सीमावर्ती क्षेत्रका नागरिकहरू किनमेलका लागि भारतीय बजारमा निर्भर हुँदा नेपाली व्यवसाय धराशायी बन्दै गएको भन्दै सिरहाका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा ले लहानमा आयोजना गरेको ‘नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको स्वागत तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरूले आफ्ना समस्या राख्दै सांसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
कार्यक्रममा सङ्घका अध्यक्ष प्रदीपकुमार गुप्ता ले रु १०० भन्दा बढी मूल्यका सामानमा भन्सार लगाउने सरकारी नीतिको स्वागत गर्दै यसको कडाइका साथ कार्यान्वयन हुनुपर्ने बताए। उनले विना भन्सारका सामानको आयातमा पूर्ण रोक लगाउन र भन्सार दर समायोजन गरी नेपाल–भारतबीचको मूल्य अन्तर घटाउनुपर्नेमा जोड दिए।
त्यस्तै, सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शिवशङ्कर यादव ले सरकारले खुला तथा उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गर्दै खुला सीमाको दुरुपयोग गरी हुने अवैध निकासी तथा तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको बताए।
सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता ले व्यवसायीहरूको गुनासा र चिन्ताप्रति आफू गम्भीर रहेको बताउँदै ती समस्या समाधानका लागि सम्बन्धित निकाय तथा संसदमा पहल गर्ने आश्वासन दिए।
व्यवसायीहरूले आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने वातावरण निर्माण गर्न, सीमा नाकामा हुने तस्करी नियन्त्रण गर्न तथा स्वदेशी लगानीको संरक्षण गर्न नवनिर्वाचित सांसदहरूसँग आग्रह गरेका छन्।