काठमाडौं ,७ जेष्ठ//
नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरूको कार्यविभाजन प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
गत सोमबार बसेको बैठकमा कार्यविभाजन प्रस्ताव पेश भए पनि नेताहरूको सम्बोधनमै समय सकिएकाले निर्णय हुन सकेको थिएन ।
प्रस्ताव अनुसार सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने तयारी गरिएको छ । शेरधन राईलाई कोशी, महेश बस्नेतलाई बागमती, खगराज अधिकारीलाई गण्डकी, यमलाल कँडेललाई कर्णाली र छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश इन्चार्ज प्रस्ताव गरिएको छ ।
यस्तै लिलानाथ श्रेष्ठलाई मधेश र दामोदर भण्डारीलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिने तयारी छ ।
महासचिव शंकर पोखरेललाई संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । साथै उपाध्यक्ष र उपमहासचिवहरूलाई विभिन्न विभागीय जिम्मेवारी तोक्ने तयारी एमालेले गरेको छ ।